उत्कृष्ट ब्याटिङले नेपाली क्रिकेटमा उदाए अर्जुन

38

आइसिसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालको सुरूवात राम्रो हुन सकेन। आइतबार दक्षिण अफ्रिकाको इन्ट लन्डनमा भएको खेलमा नेपालले न्युजिल्यान्डसँग ६४ रनले पराजित भयो। न्युजिल्यान्डसँग पराजित भए पनि नेपाली टिमका ओपनिङ ब्याटर अर्जुन कुमालले भने उत्कृष्ट ब्याटिङ गर्दै आफ्नो क्षमता प्रमाणित गरे। अर्जुनले खेलमा ९० रन जोडे। १०४ बल खेलेका अर्जुनले १२ चौका प्रहार गरे। ३०३ रनको बलियो लक्ष्य पछ्याएको नेपालका लागि अर्जुनले धैर्यपूर्वक ब्याटिङ गरे पनि उनले अरु ब्याटरबाट दरिलो साथ पाउन सकेनन्। जसका कारण नेपालको इनिङ्ग्स संकटमा परेको थियो। शतक बनाउनबाट चुकेका अर्जुन नेपालका लागि यू-१९ विश्वकपको एकै खेलमा बढी रन बनाउने ब्याटरको सूचीमा भने दोस्रो स्थानमा पुगे। अर्जुनले सन् २००४ मा कनिष्क चौगाईले प्रहार गरेको रन जति नै आइतबार न्युजिल्यान्डविरुद्ध रन बनाए। चौगाईले पपुवा न्युगिनीविरुद्ध नटआउट ९० रन जोडेका थिए। यू-१९ विश्वकपको एकै इनिङ्ग्समा नेपालका लागि सर्वाधिक रन बनाउने ब्याटर भने प्रदीप ऐरी हुन्। ऐरीले सन् २०१२ मा नामिबियाविरुद्ध ९८ रन जोडेका थिए।

उत्कृष्ट ब्याटिङले नेपाली क्रिकेटमा उदाइरहेका अर्जुन २०७७ को माघमा नेपाली राष्ट्रिय क्रिकेट टिमका तत्कालीन प्रशिक्षक डेभ वाटमोरले १५ वर्षीय अर्जुन कुमाललाई नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाए। १५ वर्षको उमेरमै सिनियर टिमको बन्द प्रशिक्षणमा बोलाइएपछि अर्जुनको खुसीको सीमा नै रहेन। भारतको राजधानी दिल्लीमा परिवारसँग बस्ने अर्जुन आमाको साथमा तत्काल काठमाडौं आइपुगे। त्यतिबेलाका सबैभन्दा कान्छा खेलाडी अर्जुनलाई २०७७ को प्रधानमन्त्री कपमा गरेको प्रदर्शनको आधारमा वाटमोरले बन्द प्रशिक्षणमा स्थान दिएका थिए। वाटमोरले नेपाली क्रिकेटको भविष्य अर्जुनमा देखेका थिए। त्यसैले सिनियर खेलाडीसँग घुलमिल गर्दै प्रशिक्षण गर्ने अवसर जुटाइदिए। त्यतिबेला उनी राष्ट्रिय टिममा नपरे पनि अहिले नेपाली क्रिकेटमा उत्कृष्ट ब्याटरको रूपमा उदाइरहेका छन्।

गत मंसिरमा युएईको दुबईमा भइरहेको एसिसी एसिया कपमा अर्जुनले उत्कृष्ट ब्याटिङ गर्दै नेपाली क्रिकेटको भविष्य राम्रो भएको संकेत गरे। सुरूआती दुई खेलमा नेपालले हार बेहोरे पनि अर्जुनले आफ्नो ब्याटिङ कौशल देखाएर सबैलाई मोहित पारेका थिए।
अर्जुनले पाकिस्तानविरूद्धको पहिलो खेलमा २१ रन जोडेका थिए। उनले सो खेलमा ३७ बलमा ३ चौका प्रहार गरे। यस्तै उनले अफगानिस्तानविरूद्ध उनले धैर्यपूर्वक ब्याटिङ गरे। एक छेउमा नेपालले लगातार विकेट गुमाइरहँदा अर्को छेउबाट अर्जुनले अन्तिम विकेट बाँकी रहँदासम्म ब्याटिङ गरे। लोभलाग्दा सट प्रहार गर्दै ४१ औं ओभरसम्म मैदानमा टिके।अफगानिस्तानविरूद्ध उनले १०८ बलमा १३ चौकाको मद्दतमा ९१ रन जोड्न सफल भए। सोही १८ वर्ष पूरा भएका अर्जुनले अब सिनियर टिममा आफ्नो स्थान बनाउन दाबेदारी दिने संकेत गरेका थिए।