तीन संसदीय समितिका बैठकमा आज हुनेछ यी विषयमा छलफल

26

काठमाडौं : विद्यालय शिक्षा विधेयकमा छलफल गर्न संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यार्थी संगठनलाई बोलाएको छ। आइतबार बिहान साढे ११ बजे बस्ने बैठकमा विभिन्न विद्यार्थी संघ–संगठनसँग छलफल गर्ने सूचना संसद् सचिवालयले जारी गरेको छ। समितिले यसअघि शिक्षक, कर्मचारी, विद्यालय सञ्चालक, पाठ्यक्रम विकास केन्द्रका अधिकारी तथा अभिभावक संघका पदाधिकारीलाई बोलाएर विधयेकमाथि छलफल गरेको थियो।

यस्तै प्रतिनिधिसभा अन्तरगत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा आज गुठी पीडित मोही किसानको समस्या तथा गुठीसम्बन्धी कानून लगायतका विषयमा छलफल हुने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा छलफलका लागि भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री, मन्त्रालयका सचिवका साथै कानून, न्याय तथा संसदीय मामिलामन्त्री र सचिवलाई बोलाइएको छ। बिहान ११ बजे बस्ने राष्ट्रिय सभा अन्तर्गत रहेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय सम्पदा अन्तर्गत राष्ट्रिय निकुञ्ज, आरक्षण र संरक्षित क्षेत्रको विद्यमान अवस्था र यसको संरक्षण संवर्धनमा सामुदायिक वन उपभोक्ता महासंघको भूमिकालगायत विषयमा छलफल हुने संसद् सचिवालयले जनाएको छ।