पत्नीसँग अप्राकृतिक यौन सम्पर्क गर्दा ९ वर्ष जेल

39

काठमाडौँ: भारतस्थित छत्तीसगढको दुर्ग जिल्लाको फास्ट ट्र्याक अदालतले श्रीमतीसँग अप्राकृतिक यौनसम्बन्ध राखेको कसुरमा श्रीमान्‌लाई ९ वर्ष कैद र १० हजार रुपैयाँ (भारतीय) जरिवानाको सजाय सुनाएको छ।साथै श्रीमतीलाई कुटपिटको कसुरमा उनलाई १ वर्ष कैद र एक हजार रुपैयाँ जरिवानाको सजाय पनि हुनेछ। भारतमा वैवाहिक बलात्कार र अप्राकृतिक यौन दुर्व्यवहारको बहस चलिरहेका बेला सोमबार उक्त फैसला आएको बीबीसी हिन्दीले जनाएको छ। सोमबार नै भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय न्यायिक संहितासहित तीनवटा विधेयकलाई आफ्नो स्वीकृति दिएकी छन्। नयाँ भारतीय न्याय संहितामा भने अप्राकृतिक यौन कार्यको धारा ३७७ खारेज गरिएको छ। तर उक्त धारा खारेज हुनुअघिको फैसलाबमोजिम निमिष अग्रवाललाई जेल पठाइएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।

घटना के हो?
यो फैसलापछि पीडित महिलाले भनिन्, ‘मलाई सबै प्रकारले यातना दिइयो। मलाई मानसिक, शारीरिक, सामाजिक, आर्थिक रूपमा यातना दिइयो। म आशा गर्छु– अन्य महिलाले पनि अप्राकृतिक यौनसम्पर्कको उजुरी गर्न लाज नमानून्। उनीहरू अगाडि आएर आफ्नो अधिकारका लागि आवाज उठाउन्।’ उनले थपिन्, ‘म महिलाहरूलाई भन्न चाहन्छु– तपाईंको मन वा शरीरमा चोट लागेको छ भने आवाज उठाउनूस्। समाज र कानुन अहिले धेरै जागरुक भइसकेको छ।’यसैबीच पीडित महिहलाका वृद्ध बुबाले आफू र आफ्नो परिवारले धेरै वर्षदेखि भोगेको यातना कसैले कल्पना पनि गर्न नसक्ने बताएका छन्। पीडितका वकिल नीरज चौबेका अनुसार यस मुद्दामा पीडितकी सासू र ससुरालाई पनि १० महिना कैद सजाय सुनाइएको छ। त्यसैगरी अदालतले पीडितकी भाउजूलाई ६ महिना कैद सजाय सुनाएको छ।