Saturday, October 24, 2026
Home अपराध स्थानीयवासीलाई गाँजाखेती गराउँदै भारतीय तस्कर

स्थानीयवासीलाई गाँजाखेती गराउँदै भारतीय तस्कर

194
फाईल फोटो

फागुन २१,
चितवन, जिल्लाको पहाडी क्षेत्रमा रहेका बासिन्दालाई भारतीय तस्करले गाँजाखेती गर्न लगाउने गरेको पाइएको छ । राप्ती नगरपालिका वडा नं ११, १२ र १३ को साविक लोथर र कोराक गाउँ विकास समितिमा भारतीय तस्करले स्थानीयवासीलाई गाँजाखेती गर्न लगाउने गरेको पाइएको हो ।

राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार भारतीय तस्करले गाँजा रोप्न, काटेर सुकाउन र बोकेर उनीहरुसम्म पु¥याउन छुट्टाछुट्टै व्यक्तिलाई पैसा दिने गरेका छन् । स्थानीयवासीलाई उद्धृत गर्दै बरालले भन्नुभयो,“गाउँगाउँमा कहिलेकाहीँ तस्कर– तस्करबीचमा गोली हानाहान हुने गरेको सुनेको छु ।” भारतीय तस्करहरुले क्षेत्र विभाजन गरेर स्थानीयवासीलाई परिचालन गर्ने गरेको बरालले बताउनुभयो ।

चेपाङ समुदायको बाहुल्य रहेको यहाँ ठूलो क्षेत्रफलमा गाँजा खेती हुने गरेको छ । बरालका अनुसार गाँजा खेतीबाट पैसा पाउने भएपछि सर्वसाधारणले स्थानीय सरकारको भन्दा तस्करका कुरा बढी सुन्ने गरेको पाइएको छ । उनीहरुलाई गाँजाखेती गर्न छुटाउनका लागि गरीबी निवारण मन्त्रालय र जिल्ला सहकारी सङ्घसँग नगरपालिकाले मिलेर तरकारी, बाख्रा, मौरी र कुखुरापालन गर्न सहयोग गरेको छ । सोही ठाउँमा तरकारी सङ्कलन केन्द्र समेत सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले समय समयमा प्रहरी पठाएर गाँजा नष्ट गर्ने गरेको बताउनुभयो । हालैमात्र प्रहरीले लोथरमा करीब १८ क्विन्टल गाँजा नष्ट गरेको उहाँले बताउनुभयो ।

गाँजाखेती गर्नेहरुले कुन्यू लगाएर राखेको अवस्थामा नष्ट गरिएको उहाँले बताउनुभयो । राठौरले चितवन, मकवानपुर र धादिङका पहाडी क्षेत्रमा भारतीय तस्करले स्थानीय परिचालन गरी गाँजाखेती गर्दै आएको बताउनुभयो ।

भारतीय तस्करले सोझासाझा चेपाङलाई परिचालन गर्ने गरेको राप्ती नगरपालिका–१३ का वडाध्यक्ष सूर्य चेपाङ्ले बताउनुभयो । सम्बन्धित बारी धनी चेपाङलाई गाँजा लगाउने, गोडमेल गर्ने र थन्क्याउनेसम्मको एकमुष्ट वा छुट्टाछुट्टै जिम्मा दिएर रकम दिने गरेको उहाँले बताउनुभयो । गाँजा तयार भएपछि चेपाङलाई नै भरिया बनाएर मनहरि, लोथर बजार झार्ने गरेको पाइएको छ । उक्त गाँजा कतिपय नेपाली बजार र केही भारतीय बजारमा पुग्ने गरेको स्थानीयवासीको भनाइ छ ।-रासस