पुस १३ गतेदेखि १० दिने बृहत् दोलखा महोत्सव हुने

49

काठमाडौँ : दोलखा उद्योग वाणिज्य संघको आयोजनामा पुस १३ गतेदेखि १० दिने बृहत् दोलखा महोत्सव हुने भएको छ। दोलखा उद्योग वाणिज्य संघको आयोजनामा पुस १३ गतेदेखि २२ गतेसम्म दोलखा सदरमुकाम चरिकोटस्थित भीमेश्वर रंगशालामा १० दिने बृहत् दोलखा महोत्सव हुन लागेको हो। मंगलवार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै संघले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। महोत्सवको उद्घाटन पुस १३ गते प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने जनाइएको छ। पत्रकार सम्मेलनमा बोल्दै दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले महोत्सवमा १५० वटा स्टल राखिने जानकारी दिए। महोत्सवमा स्थानीय उत्पादन तथा परिकारको बिक्री, वितरण तथा प्रवर्धन गरिने उनले बताए। स्टलहरूमा दोलखाका सबै स्थानीय तहहरू, सरकारी निकाय, निजी क्षेत्र, कृषक, विभिन्न समूहहरू, संघसंस्था, उद्योगी व्यवसायीका उत्पादन लगायत प्रदर्शनीमा राखिने पनि उनले बताए। अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन पर्यटकका स्वागतका लागि स्ट्रिट फुड फेस्टिभल आयोजना पनि गरिने भएको छ। महोत्सवमा दोलखा जिल्लाका पर्यटकीय स्थलहरूको फोटो प्रदर्शनी र वृत्तचित्र प्रदर्शनी पनि गरिने उनले जानकारी दिए। महोत्सवमा कलाकारहरूको सांस्कृतिक प्रस्तुतिका साथसाथै विभिन्न प्रकारका खेलकुद प्रतियोगिता र विद्यालयस्तरीय प्रतियोगिता पनि सञ्चालन हुने अध्यक्ष श्रेष्ठले बताए।