कक्षा १० मा अध्ययनत सबिनले उडाए ‘नमूना हवाईजहाज’

44

झापा : बुद्धशान्ति गाउँपालिकास्थित आदर्श माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सबिन बाँस्कोटाले ‘नमूना हवाईजहाज’ बनाएर उडाउन सफल भएका छन्। उनले आठ महिना मिहेनत गरेर ‘नमूना हवाईजहाज’ बनाएका हुन्। बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं हालै सो जहाज उडाउँदा छात्र बाँस्कोटाको साथमा नै थिए। सो अवसरमा अध्यक्ष प्रसाईले बाँस्कोटाको प्रतिभालाई अद्भुत बताए। बुद्धशान्ति-१ डुम्रेकोट घर भएका १७ वर्षीय बाँस्कोटाले उडाएको हवाईजहाज नेपाल एयरलायन्सको प्रतिलिपिजस्तो देखिन्छ। जहाजमा मेकानिकल र इलेक्ट्रिकल प्रविधिको संयोजन गरिएको उनले बताए। धावनमार्गमा झैँ दगुरेर उडेको जहाज २० मिनेटसम्म आकाशमा फन्को मारेर ओर्लिएको थियो। जहाजलाई बाँस्कोटाले भुइँबाट रिमोटमार्फत नियन्त्रण गरेका थिए। खेर गइरहेको टिनको पाता, फलामको टुक्राटुक्री, प्लास्टिक र तार प्रयोग गरेर बनाइएको जहाज दुई दिनअघि गाउँपालिका परिसरमा उडाउँदा सयौँ दर्शक रोमाञ्चित बनेका थिए।

गाउँपालिकाको बैठक बसेर प्रतिभाशाली विद्यार्थी बाँस्कोटालाई आर्थिक सहयोग गर्ने पालिकाका अध्यक्ष प्रसाईंले प्रतिबद्धता व्यक्त गरेका छन्। छात्र बाँस्कोटाले तीनवटा जहाजको नमूना र अन्य वैज्ञानिक उपकरण निर्माण गरेका छन्। बनाएका सामानले उनको घरको कोठाहरू भरिएका छन्। बनाएका जहाजहरूलाई उनले नेपाल एयरलायन्स, तारा एयरलायन्स र ग्रेटर नेपाल नाम दिएका छन्। अन्य उपकरणमा बिजुली साइकल, पाइप एसी, गल्र्स सेफ्टी, इन्फ्रारेड धारा, रोबोट, सोलार चार्जरलगायत छन्। गरिब परिवारमा जन्मेका छात्र बाँस्कोटाले घरमै अध्ययन र अभ्यास गरेर वैज्ञानिक उपकरण बनाउने गरेका जनाइएको छ।