काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको अमलेखगञ्जमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । आज बिहान भएको घटनामा २७ जना घाइने भएका छन् । जितपुर–सिमरा उपमहानगरपालिका– २२ स्थित तीन नम्बर पुल नजिक बस र ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैयातर्फ गुडेको ना ७ ख ७३०० नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा तनहुँ घर भएका ट्रकका चालक २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौँडाका बस चालक ४० वर्षीय हरि शमशेर सुयल थापा र सनाखत हुन नसकेका अर्का एक पुरुषको मृत्यु भएको बारा प्रहरीले जनाएको छ । उनीहरूको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकामध्ये ७ जनालाई उपचारका लागि हेटौँडा तथा चितवन मेडिकल कलेज लगिएको र अन्य सामान्य घाइते २० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । यस बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।