काठमाडौं : हिन्दूहरूको दोस्रो ठूलो चाड तिहार कात्तिक २५ गते सुरू हुँदैछ। २५ गते काग तिहार, २६ गते लक्ष्मी पूजा, २७ गते गाई तिहार, २८ गते गोवर्द्धन पूजा र २९ गते भाइटीका परेको छ। तिहारमा भाइटीकाको विशेष महत्व रहन्छ। तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर सगुनका रूपमा भाइमसला दिने प्रचलन छ। दाजुभाइलाई सप्तरंगी टीका र माला लगाइदिइसकेपछि चेलीबेटीले भाइमसलामा (नरिवल, काजु, किसमिस, हाडे बदाम, ओखर) लगायत दिने प्रचलन कायमै छ। त्यसैले पनि बजारमा यसको धेरै खपत हुने गर्छ। यिनै भाइमसला यस वर्षको २ महिनामै ९१ करोड रुपैयाँभन्दा बढीको आयात भएको छ। भन्सार विभागका अनुसार गत साउनदेखि असोजसम्म ९१ करोड ९१ लाख रुपैयाँको भाइमसला विदेशबाट आयात भएको छ। स्थानीय उत्पादनले बजार माग धान्न नसक्ने र तिहारको बेला खपत धेरै हुने हुँदा भारत, चीन,अमेरिका, भियतनाम, मलेसियालगायत मुलुकबाट तिहारलाई आवश्यक पर्ने सामान आयात हुने गर्छ।
कुन सामानको कति आयात भयो?
भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काका अनुसार साउनदेखि असोजसम्म १० लाख ९६ केजी ओखर आयात भएको छ। यसको मूल्य ३७ करोड ६५ लाख रुपैयाँ पर्न जान्छ। यस्तै, १३ करोड ३० लाख रुपैयाँ बराबरको २६ हजार केजी काजु आयात भएको छ। ९ करोड रुपैयाँको किसमिस आयात भएको छ भने ५६ लाख ४१ हजार केजी नरिवल भित्रिएको छ। यसको मूल्य ३१ करोड ७७ लाख मूल्य पर्न जान्छ। त्यस्तै, १९ लाख रुपैयाँको बदाम विदेशबाट आयात भएको उनले जानकारी दिए। चाडबाड परेकाले अब झनै बढी भाइमसला आयात हुने उनको अनुमान छ।