मखमलीका मालाले मोल नपाएपछि गुण्डुका व्यवसायी निराश

85

काठमाडौँ : मखमली फूलका मालाको माग अत्यधिक भए पनि मोल नपाएको किसानको गुनासो छ।
गुण्डुका किसानले तिहारका लागि आवश्यक मखमली फूलको माला उन्न र बिक्री गर्न थालेका छन्। यो वर्षको तिहार ढिला भएकाले मखमली फूल सुक्न लागेको उनीहरूको गुनासो छ। एक हप्ता अगाडिदेखि माला उन्न र बिक्री गरिसक्न लागेको व्यवसायीहरूले बताए। गुण्डुका व्यवसायीहरूले भाइटीकाको दिन दाजुभाइलाई लगाउने मखमली फूलको मालाको उचित मूल्य नपाएको बताएका छन्। भक्तपुर सूर्यविनायक नगरपालिका गुण्डुकी राधा थापाले विगतका वर्षको जस्तो मखमली फूल र मालाको मूल्य पाउन नसकेको बताइन्। उनले मेहनतअनुसार मखमली मालाको मूल्य भने जस्तो नभएको गुनासो गरिन्। उनले व्यापार राम्रो भए पनि विगतका वर्ष ३५ रुपैयाँसम्म प्रतिमाला बिक्री भएकोमा यो वर्ष २० देखि २३ रुपैयाँभन्दा बढी मूल्य पाउन नसकेको बताइन्। उनले मखमली मालाको मूल्य धेरै वर्षदेखि बढ्न नसकेको बताइन्। उनले मखमली फूल उत्पादन गरेर माला बेच्दा फूलमा लगाएको लगानी मात्रै उठ्ने स्थिति रहेको बताइन्। उनले आठ आना जग्गामा मखमली खेती गर्दा वार्षिक रूपमा ५० हजारभन्दा बढी आम्दानी गर्न सकिने बताइन्। उनले बजार मूल्य कम हुँदा विगतका वर्षको भन्दा आम्दानी कम हुने अवस्था रहेको बताइन्।

उनले भनिन्, ‘विगतका वर्षको जस्तो मखमलीको मालाको मूल्य पाएनौँ। गत वर्ष ३५ रुपैयाँसम्म प्रतिमाला बिक्री भए पनि यो वर्ष २० देखि २३ रुपैयाँभन्दा बढी पाउन सकिएको छैन। मखमली फूल उत्पादनमा मेहनत भएअनुसार मूल्य आउन छोडेको छ। मखमली फूल उत्पादनमा हामीले लगाएको लगानी उठ्छ।’ गुण्डुकै अर्की पुष्प व्यवसायी निर्मला बस्नेतको पनि थापाको जस्तै गुनासो छ। उनले पनि मखमली मालाको माग राम्रो भए पनि विगतका वर्षहरूको जस्तो मूल्य नपाएको बताइन्। उनले विगतका वर्षहरूमा ३० देखि ३५ रुपैयाँसम्म मूल्यमा बिक्री भएकोमा यो वर्ष २३ रुपैयाँसम्म मात्रै प्रति मालाको मूल्य पाएको बताइन्। उनले विगतका वर्षहरूको जस्तो मालाको मूल्य नपाउँदा ४० प्रतिशत आम्दानी कम हुने देखिएको बताइन्।