अनेरास्ववियु ललितपुरको अध्यक्षमा बजगाईं

47

ललितपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ललितपुरको अध्यक्षमा सन्तोष बजगाईं चयन हुनुभएको छ । अनेरास्ववियुको ललितपुर जिल्ला समितिको २८ औं जिल्ला सम्मेलनबाट बजगाईंको नेतृत्वमा बजगाईं अध्यक्षतामा ३१ सदस्यीय समिति सर्वसम्मत चयन भएको हो । समितिको उपाध्यक्षमा नमिता बजगाईं, दिनेश तिमिल्सिना र दिपेन सिजापती, सचिवमा सागर तिमिल्सिना, सहसचिवमा रजतचन्द्र घिमिरे, सलिन शाक्य र अनिश हुमागाईं र कोषाध्यक्षमा मनिष सिवाकोटी रहनुभएको छ । निर्वाचित समितिको कार्यकाल ३ बर्ष रहेको छ । निर्वाचित भएपश्चात् नवनिर्वाचित अध्यक्ष बजगाईंले अनेरास्ववियु सक्रियता र संगठन विस्तार आफ्नो प्रमुख लक्ष्य रहेको बताउनुभयो ।

यसअघि अनेरास्ववियु ललितपुरको २८ औं अधिवेशनको उद्घाटन ललितपुरको लेलेमा आयोजित एक कार्यक्रमबीच नेकपा (एमाले)का सचिव योगेश भट्टराई तथा अनेरास्ववियुका अध्यक्ष समिक बडालले गर्नुभएको थियो । उद्घाटन समारोहमा सम्बोधन गर्दै एमाले सचिव भट्टराईले गत संसदीय निर्वाचनमा एमालेले बहुमत ल्याउन नसक्दा विकास रोकिएको बताउनुभयो । एमालेले प्रष्ट बहुमत भएको खण्डमा शिक्षा र स्वास्थ्य क्षेत्रमा अधिकतम लगानी गर्न सकिने र एमालेको योजना कार्यान्वयन गर्नेतर्फ सोच भएकोले पार्टीको बहुमत नआउँदा एमालेको योजना कार्यान्वयनमा अझै केही समय कुर्नुपर्ने अवस्था रहेको जनाउनुभयो ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले अनेरास्ववियुले विगतदेखि नै विद्यार्थी आन्दोलनको नेतृत्व गरिरहेकोमा पछिल्लो समय विद्यार्थीको क्षमता प्रस्फुटनलाई राष्ट्रिय स्तरमा लगिरहेको जनाउनुभयो । उहाँले आउँदै गरेको स्ववियु निर्वाचनमा अनेरास्ववियुले अधिकांश स्थानमा नेतृत्व गर्ने विश्वास व्यक्त गर्नुभयो । बागमती प्रदेश सभा सदस्य तथा अनेरास्ववियुका पूर्व नेता मधुसूदन पौडेलले विगतको स्मरण गर्दै अनेरास्ववियुका नेतृत्वकर्ताहरु हाल पार्टीको प्रमुख भूमिकामा रहेको बताउनुभयो । उहाँले ललितपुरको विकासका लागि एमालेको नेतृत्व आवश्यक रहेको भनाई राख्नुभयो ।

एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले विगतमा एमाले विचार बुझ्न अनेरास्ववियुका नेतृत्वको भनाईलाई आधार बनाइने गरेको बताउनुभयो । उहाँले पुरानो अनेरास्ववियुको विरासत पुन देखाउन अनेरास्ववियुका नेतृत्व पक्तिलाई आग्रह गर्नुभयो ।
अनेरास्ववियु स्थायी कमिटी सदस्य भवानी बजगाईंले विद्यार्थीको आन्दोलनको नेतृत्व र शैक्षिक विकास दुवैमा अनेरास्ववियु अब्बल रहेको बताउनुभयो । अनेरास्ववियु ललितपुरका संयोजक युनिक दाहालले विगत्को पार्टी एकता र विभाजनले सम्मेलनलाई असर गरिरहेको सन्दर्भमा लामो समयदेखीको खडेरीलाई चिर्दै आफ्नो संयोजकत्वमा सम्मेलन गर्ने जिम्मा प्राप्त गरेकोमा खुसी ब्यक्त गर्नुभयो ।