काठमाडौं । आज मंगलबार बझाङमा केन्द्रविन्दु भएर पटक पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सबैभन्दा ठूलो धक्का दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको गएको थियो । त्यसअघि २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो, जुन पहिलो थियो ।
‘३ बजेर ६ मिनेटको मेनसकपछि ४ रेक्टरमाथिका ३.४ वटा परकम्प गएका छन्,’ केन्द्रका भूकम्पविद् चिन्तन तिम्सिनाले भने, ‘४ रेक्टरभन्दा कमका त थुप्रै परकम्प गएका छन् ।’ केन्द्रका अनुसार ३ बजेर ४५ मिनेट र ४ बजेर २८ मिनेटमा ४.१ रेक्टर स्केलका तथा ४ बजेर ३१ मिनेटमा ४.३ रेक्टर स्केलको र बेलुकी ५ बजेर १९ मिनेटमा ५ रेक्टरको भूकम्प गएको छ ।
भूकम्प कुनै सूचना वा पूर्वसूचना दिएर आउँदैन, एकै दिन धेरै पटक भूकम्प गए पनि आफूहरुले जोखिम घट्यो बढ्यो केही भन्न नसक्ने उनले बताए । बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण ६ जना घाइते भएका छन् । बझाङमा ५ जना र बैतडीमा १ जना घाइते भएका छन् । पहिरो खसेको छ । पहिरोका कारण जय पृथ्वीबहादुर राजमार्गको बझाङ खण्ड अवरुद्ध भएको हो ।
तस्विरहरु साइपाल एफएमको फेसबुकबाट लिएको हो एफएमको फेसबुकबाट लिएको हो