भीमले बुबालाई आफ्नो अन्तर्राष्ट्रिय खेल देखाउन काठमाडौं बोलाए

58

कञ्चनपुर : क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन अधियाँमा लिएर साढे तीन दशक कमाए। दलित परिवार, त्यहीमाथि जहान परिवारको जीविका चलाउन साढे तीन दशक अधियाँमा जमिन लिएका ५५ वर्षीय वीरभानले पछिल्लो दुई वर्षयता भने १५ कट्ठा जमिन भाडामा लिएर खेती गर्दै छन्। चार छोरा र एक छोरी अन्यको खेत कमाएर हुर्काएका वीरभानलाई अहिले माइला छोरा २२ वर्षीय भीम सार्कीले क्रिकेट खेलबाट नामसँगै दामसमेत दिलाएपछि सार्की परिवारको दैनिकी नै फेरिएको छ।’क्रिकेट टिममा महत्वपूर्ण खेलाडी भए पनि हाम्रो परिवारको त उ (भीम) खम्बा नै हो।’ बुबा वीरभानले खुसी व्यक्ति गर्दै भने, ‘खेलमा उसको प्रगति देखेर हामी परिवार नै खुसी छौँ।’ तर परिवार पाल्न भाडामा जमिन लिएर छाक टार्नुपर्ने अवस्था यथावत रहेको उनको भनाइ छ।’ऋण तिर्नदेखि जीविका चलाउनसम्म संघर्ष त छ नै’, उनले भने, ‘तर क्रिकेटबाट छोराले दिएको खुसीले हाम्रो दुःख नै ओझेलमा पर्‍यो।’ महेन्द्रनगरमा ऋण लिएर छ वर्ष अघि रिक्साको ‘डिलर’ सञ्चालनमा ल्याएका वीरभानलाई अहिले सोही व्यापारको ऋणले छोडेको छैन।’अटो, ई–रिक्सा आएपछि साइकल रिक्सा विस्थापित हुँदा रु १५-२० लाख ऋणमा डुबे’, उनले भने, ‘रु ९/१० लाख छोरा भीमले क्रिकेटबाट ल्याएको आम्दानीबाट तिर्‍यौँ।’ कक्षा ५ पढ्दादेखि नै महेन्द्रनगरमा क्रिकेट पछ्याउन लागेका भीमले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टिमबाट खेलिसकेका छन्। यस पटक भने १९ औँ एसियन खेलकुदमा उनी टिममा परेनन्।

थुप्रै अन्तर्राष्ट्रियस्तरमा समेत उत्कृष्ट प्रदर्शन गरिसकेका भीमले पाएका पदक र प्रमाणपत्र बुबा वीरभानले कोठाभरि सजाएर राखेका छन्।’क्रिकेटमै राम्रो गरेकाले होला मलाई पनि अहिले पहिलो एसिया कप छनोट हुँदा काठमाडौं बोलाएर क्रिकेट हेर्न विशिष्ट कक्षको टिकट दिएर मैदानसम्म पुर्‍यायो’, उनले भने, ‘अझ पनि राम्रो गर्दै जाने छ भन्ने विश्वास छ, बाँकी भगवानको कृपा।’ कक्षा ८ सम्म यहाँस्थित भृकुटी मावि पढेका भीमले प्रवेशिका परीक्षा (एसएलसी) सन्राइज हायर सेकेण्ड्री स्कुलबाट गरे।’सन्राइजबाट भीम क्रिकेटमा राइज भयो’, बुबा वीरभानले भने, ‘स्कुल पढ्दै धेरै ठाउँमा खेल्न जान थालिसकेको थियो।’ एउटा सामान्य दलित परिवारमा जन्मिएका भीमले क्रिकेटबाट भएको आम्दानीबाट दाजु विनोदलाई वैदेशिक रोजगारीका लागि मलेसिया र भाइ करनलाई दुवई पठाएका छन्।