कसैलाई नबिझाएका सुवास नेम्वाङ, यस्तो छ जीवन रेखा……..

41

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङको जन्म २००९ फागुन २८ गते इलामको सुन्तलाबारीमा भएको थियो । उनको राजनीतिक यात्रा २०२७ सालपछि सुरु भएको थियो । २०२९ सालमा नेम्वाङ अनेरास्ववियूको इलाम जिल्ला कमिटी अध्यक्ष बने। पंचायत विरोध आन्दोलनमा लाग्दा नेम्वाङ करिब दुई वर्ष जेल बसेका थिए । उनी कानुन विषयको अब्बल विद्यार्थी हुन् ।

२०३६-०३७ सालपछि उनले नेपाल ल क्याम्पसमा पढाउन थालेका थिए । २०४२ सालमा सुवास नेम्वाङ, भरत उप्रेती, वैद्यनाथ उपाध्यायलगायत मिलेर बागबजारमा पायोनियर ल फर्म चलाएका थिए। नेम्वाङ २०४३ मा निर्विरोध बार एशोसिएसनको महासचिव चुनिएका थिए ।

२०४८ र २०५१ मा गरी उनी दुई पटक राष्ट्रिय सभामा सदस्य चुनिए ।नेम्वाङ २०५४ सालको नेपालगञ्जको छैठौं महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्य निर्वाचित भएका थिए।

२०४८ सालदेखि उनी निरन्तर संसदीय राजनीतिमा थिए।
नेम्वाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा उनको आज बिहान निधन भएको हो । नेम्वाङका छोराहरू आउन ढिलो हुने भएपछि बुधबार गर्ने भनिएको अन्त्येष्टि बिहिबारका लागि सरेको हो।