दावाको बयानले खोल्नेछ सुन प्रकरणमा राजनीतिक ‘कनेक्सन’ को ढोका

16

गत साउन २ गते साँझ ५ बजे काठमाडौं विमानस्थलबाट झन्डै सय किलो सुन बरामद भएपछि नेपालको विमानस्थलबाट त्यतिका मात्रामा सुन कसरी भित्र्याउन सकियो भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्यो।लगत्तै एमालेको युवा संगठनले सुन प्रकरणमा सरकार र विशेषगरी गृहमन्त्रीकै संलग्नता छ भनेर मसाल जुलुस पनि निकाल्यो। साउन ८ गते कम्बोडियाबाट फर्किँदा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि युवा संघकै पदचाप पछ्याउँदै यो प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए।गोदामहरूमा धमाधम छापा मारिँदै गर्दा र संलग्नताको आशंकामा केही नेपाली र केही चिनियाँ नागरिक पक्राउ परिरहँदासम्म पनि सुन प्रकरणको सुई कतातिर घुम्छ यकिन थिएन। संसदभित्र र बाहिर पनि सत्तापक्ष र प्रतिपक्षले आ-आफ्नो तरिकाले यो विषयलाई प्रस्तुत गर्ने क्रम चलिरहेको थियो।आइतबार भने यो प्रकरणको अहिलेसम्मकै माथिल्लो तहमा रहेका भनिएका दावा छिरिङ पक्राउ परेपछि राजनीतिक संलग्नताका आशंकाहरू एकाएक बढेर आए।

विशेषगरी दावा छिरिङकी नेपाली श्रीमती भनिएकी रोल्पाकी अमला रोका मगर मार्फत दावाले माओवादीमा उपमहासचिव वर्षमान पुन ‘अनन्त’ सँग विस्तार गरेको सम्बन्ध र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको परिवारैसँगको घनिष्टताले राजनीतिक आडमै सुन तस्करीको जालो फैलिइरहेको त छैन भन्ने आशंकामा थप बल पुग्यो।आइतबार समातिएका दावा छिरिङ, उनकी श्रीमती भनिएकी अमला रोका मगर, माओवादीका उपमहासचिव वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्ती मगर सँगै बसेर खाना खाएको तस्बिर दावा पक्राउ परेलगत्तै सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भयो। उता पूर्वउपराष्ट्रपतिको परिवारैसँग अमला र दावाका पारिवारिक तस्बिरहरू सामाजिक सञ्जालमा आइरहे।

लगत्तै आइतबार साँझ वर्षमान पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर अमला र दावासँग आठ वर्षअघि भेटेको, त्यसपछि कहिल्यै पनि भेट नभएको र यो प्रकरणमा आफ्नो संलग्नता नभएको प्रष्टीकरण दिए। आइतबार साँझै सामाजिक सञ्जालमा पनि उनले यही कुरा लेखे।’जनयुद्धका सहिद परिवार, रोल्पाकी चेली, पार्टी कार्यकर्ता अमला रोकासँग पारिवारिक भेटघाटको सन्दर्भमा ८ वर्ष पहिला नै सार्वजनिक भइसकेको तस्बिरलाई अहिले मसँग जोडेर गरिएको प्रचारप्रति मेरो गम्भीर आपत्ति छ,’ पुनले फेसबुकमा लेखे, ‘सरकारले चालेको सुशासनको मुद्दालाई विषयान्तर गर्न गरिएको यस्ता गलत प्रचारको खण्डन गर्दै सुन तस्करीको निष्पक्ष छानबिनको म पूर्ण रूपमा समर्थन गर्छु। राजनीतिक पूर्वाग्रहका आधारमा गरिएको यस्तो गलत प्रचारको भ्रममा नपर्न म सबैसँग हार्दिक आग्रह गर्छु।’सोमबार बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा पनि पुनले यही स्पष्टीकरण दिँदै छानबिनमा दोषी देखिए आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको र अरू नेता पनि तयार हुनुपर्ने बताए।