एक वर्षपछि बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सकिने चरणमा

36

काठमाडौं : एक वर्षपछि बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सकिने चरणमा छ। सोमबार महामन्त्री‚उपसभापति र सभापतिले धारणा राखेपछि बैठकमा नेताहरूले बोल्ने क्रम सकिनेछ। साउन २ गतेबाट सुरु भएको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य र सहमहामन्त्रीहरूले धारणा राखिसकेका छन्। केन्द्रीय सदस्यहरूको असन्तुष्टि र चर्को दबाबपछि बस्न सफल भएको बैठकमा पार्टीभित्रको द्वन्द्व,गुट–उपगुट र विवाद छरपस्ट भएको छ। फेसबुक पेजमा प्रत्यक्ष प्रशारण गरिएको बैठकमा नेताहरूले बैठकको ऐजेण्डामा भन्दा गुटको रक्षा र प्रतिरक्षामा समय खर्चिए।

बैठकको पहिलो दिन मंगलबार महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक विषय, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णयहरू अनुमोदनका लागि पेश गर्ने, साङ्गठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, नीति अधिवेशन सम्बन्धमा छलफल गरी मिति र स्थान तय गर्ने, विभाग गठनसम्बन्धी, पार्टीको राष्ट्रिय अभियान घोषणासम्बन्धी प्रस्ताव, प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिका, सरकारमा पार्टीको भूमिका लगायतको १० एजेण्डा प्रस्तुत गरेका थिए।अर्को महामन्त्री गगन थापाले पार्टीको केन्द्र र तल्लो तहले एक वर्षमा सम्पन्न गर्ने कार्ययोजना समेत प्रस्तुत गरेका थिए। तर,बैठकमा बोल्ने केन्द्रीय सदस्यहरू ती एजेण्डामाथि छलफल गर्नुको सट्टा गुट र उपगुटमा टेकेर एक अर्कालाई खुइल्याउन र चोख्याउन व्यस्त रहे। ​

संस्थापनइतर पक्षले सभापतिको आलोचनामा समय खर्चिए भने संस्थापन पक्ष नेतृत्वको बचाउ गर्दै इतर पक्षको प्रतिवादमा उत्रिए।संघ र प्रदेशको निर्वाचनपछि पहिलो पटक बसेको बैठकमा निर्वाचनमा फरक गुटको कारण घात अन्तर्घात हुँदा चुनाव हार्नु परेको कुरासमेत उठेको थियो। पार्टीभित्रकै नेतृत्व लिने अधिवेशनमा मात्रै बन्नुपर्ने गुट अधिवेशनपछि पनि सधैं कायम हुँदा देशको पहिलो पार्टी खुम्चिदै गएको केन्द्रीय सदस्यहरूको भनाई थियो।बैठकमा आफूलाई बोल्न उपलब्ध ७ मिनेटको समयअवधिमा अधिकांश सदस्यहरुले पार्टी गुटबन्दीले कमजोर भइरहेको भन्दै गुट अन्त्य हुनुपर्ने बताइरहेका थिए। तर,उनीहरू अधिकांश आफू एउटा गुटमा उभिएर विपक्षी गुटको विरोध र अन्त्यको माग गरिरहेका थिए।गुट अन्त्यको माग गर्ने उनीहरूले आफ्ना गुटको पक्षपोषण पनि पनि छुटाएका थिएनन्। महामन्त्री थापाले बैठकमा प्रस्तुत गरेको एक वर्षको कार्ययोजना कतिपय राम्रो हुँदाहुँदै पनि गुटकै कारण उनको प्रस्ताव कार्यान्वयन हुन नसक्ने कुरा उठ्यो।

महामन्त्री थापाले गुट अन्त्य गर्नुपर्ने प्रस्ताव राखेका थिए। तर,केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले आफूलाई कुनै गुटले नपत्याएपछि गुट अन्त्यको प्रस्ताव गरेको भन्दै थापाको कटाक्ष गरेका थिए।
ापालाई संकेत गर्दै बस्नेतले गुटको अन्त्य गर्नुपर्ने नारा लगाउने नै सबैभन्दा धेरै गुट बनाएर फाइदा लिने रहेको टिप्पणी गरे। बस्नेतले भने ‘कहिले यता गुट,कहिले उता गुट भन्दै फाइदा लिने,अहिले कुनै गुटले विश्वास नगर्ने भएपछि गुट चाहिँदैन भन्ने ?’पार्टी प्रवक्तासमेत रहेका प्रकाशशरण महत्तले समूह र गुटले कांग्रेसलाई कमजोर बनाएको भन्दै नेतृत्वलाई खुइल्याउने प्रयास नगर्न आग्रह गरे। केन्द्रीय सदस्य डा.शशांक कोइरालाले पार्टीको नेतृत्व लिने बेलामा गुट बने पनि अधिवेशनपश्चात त्यस्तो गुट अन्त्य हुनुपर्ने बताए।