Wednesday, October 7, 2026
Home समाचार दुर्गमका गर्भवती र सुत्केरी महिलाको हवाइ उद्धार गर्न बजेट अभाव छैन :...

दुर्गमका गर्भवती र सुत्केरी महिलाको हवाइ उद्धार गर्न बजेट अभाव छैन : मन्त्री आचार्य

35

काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाको हवाइ उद्धारमा बजेट अभाव नभएको बताएका छन्। बिहीवार राष्ट्रियसभाको बैठकमा बोल्दै मन्त्री आचार्यले दुर्गम क्षेत्रमा गर्भवती र सुत्केरी महिलाको हवाइ उद्धार गर्नका लागि बजेटको कमी नरहेको बताए। उनले आगामी आर्थिक वर्षमा उक्त कार्यक्रमको प्रभावकारिता हेरेर थप परिमार्जन गर्ने र निरन्तरता दिने उल्लेख गरे। उनले मन्त्रालयले हालसम्म ५३६ जनाको हवाइ उद्धार गरिसकेको जानकारी दिए। मन्त्री आचार्यले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई अपांगतामैत्री नमूना मन्त्रालयको रूपमा विकास गर्ने काम अघि बढिरहेको पनि बताए। उनले भने‚ ‘हालसम्म ५३६ जना दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाइ उद्धार गरी महिलाको जीवन रक्षामा सहयोग गरिएको अवस्था छ। यस कार्यक्रममा बजेटको कमी नरहेको जानकारी गराउन चाहन्छु।’उनले मन्त्रालयले दिएको सशर्त अनुदानको प्रभावकारिताको अनुगमन गरिने समेत बताए।