सल्यान : कर्णाली प्रदेशमा लम्पी स्किन रोगबाट ७ हजारभन्दा बढी पशुचौपाया मरेका छन्। कर्णालीका १० जिल्लामध्ये जुम्लाबाहेक ९ जिल्लामा महामारीका रुपमा फैलिएको रोगबाट हालसम्म ७ हजार ६३२ पशुचौपाया मरेको कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार लम्पी स्किन रोगबाट सबैभन्दा धेरै जाजरकोट प्रभावित देखिएको छ। जाजरकोटमा २ हजार ४३० पशुचौपाया मरेको मन्त्रालयका निमित्त सचिव राजु भुजले जानकारी दिए। उनका अनुसार जाजरकोटमा बाछाबाछी ३६५, गाई ५२५, गोरु १ हजार ४९५,र भैँसी ४६ वटा मरेका छन्। रुकुममा ४५७ गोरु र ११ भैंसी गरी ४६८, सल्यानमा ९५ बाछाबाछी, १९५ गाई, ६३१ गोरु र ९२ भैँसी गरी १ हजार १३, सुर्खेतमा २६१ बाछाबाछी, २६९ गाई, ४०४ गोरु र ९४ भैंसी गरी १ हजार २८ पशुचौपाया मरेका छन्। दैलेखमा ११५ बाछाबाछी, ६४ गाई, २९२ गोरु र ३ भैँसी ३ गरी ४७४, कालिकोटमा बाछाबाछी ८०, गाई १९७, गोरु २५० र ३ भैँसी गरी ५३०, मुगुमा ५९ बाछाबाछी, ३६ गाई र २६ गोरु गरी १२१, डोल्पामा १९ बाछाबाछी, गाई ४०, ४१ गोरु र २ चौंरी गरी १०२ र हुम्लामा २५३ बाछाबाछी, ५४५ गाई, ६६८ गोरु गरी १ हजार ४६६ पशुचौपाया मरेको उनको भनाई छ।
मन्त्रालयका अनुसार प्रदेशभर संक्रमित पशुको संख्या २ लाख ७ हजार २७३ रहेको छ। जसमा बाछाबाछी ४२ हजार ५०६, गाई ४५ हजार १३०, गोरु १ लाख १६ हजार ४१४, भैँसी २ हजार ३९१ र चौंरी २८२ रहेका छन्। संक्रमितमध्ये १ लाख २५ हजार ९१ पशुचौपायाको उपचार गरिएको छ भने ९ हजार ९०१ लाई खोप लगाइएको छ। महामारीको रुपमा फैलिएको लम्पी स्किन नियन्त्रण गर्न प्रदेश सरकार गम्भीर रहेको बताउँदै निमित्त सचिव भुजले संक्रमित पशुको आधारमा मृत्युदर ३ दशमलव ६८ प्रतिशत रहेको बताए।मन्त्रालयले रोग रोकथाम तथा नियन्त्रणका लागि ४० लाख रकमान्तर गरी १७ हजार मात्रा खोप तथा अन्य औषधी खरिद गरी सबै जिल्लामा वितरण गरिएको जनाएको छ। १७ हजार खोपमध्ये हालसम्म ९ सय ९०१ मात्रा खोप लगाइएको र ७ हजार ९९ डोज खोप अझै स्टक रहेको जनाएको छ।