मुख्यमन्त्री चौधरीले स्थापना गरेको संस्थाका नाममा १० करोड सरकारी बजेट!

35

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लामो समयदेखि आफैंले स्थापना गरेको संस्थालाई सरकारी बजेट उपलब्ध गराउँदै आएको पाइएको छ।चौधरीले स्थापना गरेको दाङको चखौरास्थति थारू सांस्कृतिक संरक्षण केन्द्रको नाममा पछिल्लो पाँच वर्षयता प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड र दुइटा स्थानीय सरकारबाट गरी दस करोड रूपैयाँभन्दा बजेट गएको छ। पछिल्ला पाँच वर्षयता प्रदेश सरकारबाट मात्र संस्थाका नाममा झन्डै ६ करोड रूपैयाँ बजेट गइसकेको छ। प्रदेश सरकार गठन भएदेखि नै विभिन्न मन्त्रालयबाट पटकपटक गरी सो रकम चौधरीको संस्थाका नाममा गएको हो। मुख्यमन्त्री चौधरीले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा पनि यो केन्द्रद्वारा सञ्चालित थारू संग्रहालयको नाममा तीन वटा मन्त्रालयबाट एक करोड ६० लाख रुपैयाँ बजेट छुट्याइएका हुन्। संग्रहालयको लागि पर्यटन मन्त्रालयले दुई वटा शीर्षकमा ८० लाख छुट्याएको छ। यस्तै सामाजिक मन्त्रालयले ३० लाख रुपैयाँ र शहरी विकास मन्त्रालयले ५० लाख रुपैयाँको बजेट एउटै संग्रहालयको लागि छुट्याएको पाएको हो। २०७४ सालमा प्रदेश सरकार गठनसँगै चौधरीले दाङको दंगीशरण गाउँपालिका वडा नम्बर ३, चखौरामा थारू सांस्कृतिक संरक्षण केन्द्र नामक संस्था गठन गरेका थिए। सो संस्थामार्फत थारू संग्रहालय सञ्चालन गरी उनले बर्सेनि त्यसैका नाममा सरकारी बजेट लैजाँदै आएका पाइएको हो।

यो संग्रहालय मुख्यमन्त्री चौधरी आफैं अध्यक्ष रहेको ब्याकवार्ड सोसाइटी एजुकेसन (बेस) नामक संस्थाको नाममा रहेको जग्गामा बनेको छ। चौधरीले अहिले धनगढीका यज्ञबहादुर चौधरीलाई बेसको अध्यक्षको कार्यभार दिएका छन्। बेसका कर्मचारी राजेश चौधरीलाई संरक्षण केन्द्रको अध्यक्ष बनाएका छन् भने मुख्यमन्त्री चौधरी आफू संरक्षक छन्। संग्रहालय रेखदेख तथा सञ्चालनको जिम्मा बेसकै महासचिव देफुलाल चौधरीको छोरा नरेन्द्र चौधरीसहित आफ्नै परिवारभित्रका सदस्यलाई दिएका छन्।