माओवादी केन्द्रले विपक्षमा मत हाल्ने निर्णय

33

विराटनगर : कोशी प्रदेशमा माओवादी केन्द्रले विपक्षमा मत हाल्ने निर्णय गरेको छ। आज बसेको संसदीय दलको बैठकले विपक्षमा मत हालेर आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। विश्वासको मत लिनुअघि प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रतिपक्षी दललाई लिखित पत्र पठाएका हुन्। माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका कार्कीले आज दिउसो १ बजे बस्ने तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिने कार्यसूची छ। एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्की माओवादी केन्द्र, राप्रपा र जनता समाजवादीको समर्थनमा २४ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए। ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। ९३ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३ (सभामुखसहित), राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्।