काठमाडौँ । सत्तारूढ गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र सत्ताबाहिर रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गर्ने भएका छन् । राजनीतिक स्थिरताका लागि भन्दै सत्तारूढ गठबन्धन र सत्ताबाहिरको कम्युनिस्ट पार्टीबीच मोर्चाबन्दी हुन लागेको हो । साझा प्रतिबद्धतासहित सोमबार ३ बजे काठमाडौंको राष्ट्रिय सभागृहमा मोर्चा घोषणा हुँदै छ । आलोपालो नेतृत्व गर्दै संसद् र सडकमा समान विचार भएका मुद्दामा एकताबद्ध भएर अगाडि बढ्नका लागि समाजवादी मोर्चा बनाइएको नेताहरूको प्रतिक्रिया छ ।
मोर्चा सञ्चालन गर्न तत्कालका लागि दुई तहको संरचना बनाउने तयारी छ । शीर्ष नेताहरू रहने संयोजन समिति र प्रत्येक राजनीतिक दलबाट प्रतिनिधित्व हुने गरी सचिवालय घोषणा गर्न लागिएको छ । प्रतिनिधिसभामा समाजवादी मोर्चाका ५४ सांसद हुनेछन्, जसमा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० जना छन् । मोर्चामा समान विचार भएका अन्य दल थपिने बाटो खुला राखिएकाले संख्या बढ्न सक्ने नेताहरूले बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको चार दलको बैठकले समाजवादी मोर्चा घोषणा कार्यक्रमका लागि उद्देश्य तथा नीतिगत प्रतिबद्धतामा समझदारी गरेको छ । माओवादी महासचिव देव गुरुङले समाजवादी क्रान्तिका लागि मोर्चाको आवश्यकता परेको बताए । ‘अहिलेको सन्दर्भमा समाजवादी क्रान्तिका लागि समाजवादी मोर्चाको आवश्यकता देखेर यो गर्न लागेका हौं,’ उनले भने । – यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।