भक्तपुर । नेपाल रेडक्रस सोसाइटी भक्तपुरले रगतको अभाव हुन नदिन सबैलाई रक्तदान गर्ने बानी बसाल्न आग्रह गरेको छ । रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति मनोजकुमार थापाका अनुसार, रगत छैन भने पनि सम्पर्कमा रहेका रक्तदातालाई कार्यालयमै बोलाएर तत्काल रगत उपलब्ध गराउने गरिएको छ । भक्तपुर रेडक्रसमा आउँने ९५ प्रतिशत बढीले रगत पाएको दावी गर्दै थापा भन्छन्, ‘हामीले रगत लिन आउँने अधिकाँहलाई रगत उपलब्ध गराएकै कारण रगत नपाए भक्तपुर जानू भन्ने नारा सार्थक बनेको हो । थापाका अनुसार, पछिल्लो समय रगत आवश्यक पर्नेले सबैभन्दा पहिला काठमाडौँको केन्द्र रेडक्रसमा भन्दा भक्तपुर जिल्ला शाखाको रेडक्रसमा धेरै सम्पर्क गर्ने गरेका छन् । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको रक्तसञ्चार सेवाले मंगलबार भक्तपुरमा गरेको पत्रकार सम्मेलनमा सभापति थापाले भने, यसको मुख्य कारण नै हामीले अधिकाँश सेवाग्राहीलाई रगत दिन सक्नु हो ।’
जिल्लाका चार वटै नगरपालिकासंगको सहकार्यमा भक्तपुर रेडक्रसले त्यस्तो सेवा शुरु गरेको अध्यक्ष थापाको भनाई छ । रेडक्रसले चाँगुनारायण, मध्यपुर थिमि, भक्तपुर र सूर्य विनायक नगरपालिकासंग सम्झौता गरे्र भक्तपुर जिल्लाका स्थायीलाई नगरपालिकाले सोधभर्ना गर्ने गरी निःशुल्क रगत तथा रक्ततत्व वितरणको कार्य गर्दै आएको हो।
जुन नगरपालिकाका बिरामीले निःशुल्क रगत लग्छन् सोहि नगरपालिकाले त्यसवापतको रकम नेपाल रेडक्रसलाई उपलब्ध गराउने सम्झौता भएअनुसार सो रकम नगरपालिकाले भक्तपुर रेडक्रसलाई उपलव्ध गराउँने व्यवस्था मिलाइएको छ ।
बिरामीले निःशुल्क रगत पाउन थालेपछि आर्थिक रूपमा विपन्न नागरिकलाई निकै राहत पुगेको छ। त्यसरी निःशुल्क रगत लिनका लागि बिरामीका आफन्तले बिरामीको भक्तपुर जिल्लाभित्र स्थायी ठेगाना भएको परिचय खुल्ने आधिकारिक परिचयपत्र र सम्बन्धित अस्पतालका चिकित्सकको रगत आवश्यकता रहेको सिफारिस पत्र पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसका लागि नागरिकता, बसाई सराई, मतदाता परिचयपत्रको प्रतिलिपि लगायतका कुनै परिचयपत्र भए पुग्ने व्यवस्था मिलाइएको भक्तपुर रेडक्रसले जनाएको छ ।
हालसम्म भक्तपुर जिल्लाका चारै वटा नगरपालिकाका बिरामीलाई २ हजार १ सय ६७ पिंट निःशुल्क रगत वितरण भएको छ। शाखाका अनुसार, भक्तपुर नगरपालिकामा ८ सय १६ पिंट, मध्यपुर थिमिमा ६ सय ५ पिंट, चाँगुनारायणमा ५ सय ३२ पिंट र सूर्य विनायक नगरपालिकामा २ सय १४ पिट निः शुल्क रगत उपलब्ध गराइएको छ । रेडक्रस भक्तपुर देशभरका ७७ जिल्ला शाखामध्ये नै निःशुल्क रगत उपलब्ध गराउने पहिलो जिल्ला शाखा समेत बन्न सफल भएको छ। सो शाखाले भक्तपुर जिल्लामा बसोवास गर्ने सवै बिरामीहरूलाई निःशुल्क रुपमा रगत प्रदान गर्न थालदेको छ।














