बाँदरले हैरान पार्न थालेपछि वैकल्पिक बालीका रूपमा बेसार खेती

24

तनहुँ : बाँदरले हैरान पार्न थालेपछि व्यास नगरपालिकाका किसानले वैकल्पिक बालीका रूपमा बेसार खेती थालेका छन्। बाँदरले अन्नबाली र फलफूल खाएर सताउन थालेपछि कृषि ज्ञान केन्द्र तनहुँले बेसार खेती प्रवर्धन गर्न लागेको हो। व्यास –८ सोतीबेँसीका २० कृषकले २०० रोपनी जग्गामा बेसार खेती शुरु गरेको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए। यसका लागि कृषकलाई ८५ प्रतिशत अनुदानका रूपमा चार लाख बजेट विनियोजन गरिएको छ। ‘यो वर्ष परीक्षणका रूपमा बेसार खेती थालेका छौँ । बिक्री–वितरण सहजै भए खेती विस्तार गर्दै लैजाने योजना छ’, उनले भने।

कार्यालयले बजेट विनियोजन गरेपछि आवश्यक बीउ खरिदका साथै कृषकले बेसार राखेर उमाल्ने ड्रम, कुटानीपिसानी गर्ने मेसिन, प्याक गर्ने मेसिनलगायत सामग्रीसमेत खरिद गरिसकेका छन्। समूहमा आबद्ध सदस्यले बेसार लगाउने, गोडमेल गर्नेदेखि बेसार उत्पादनपश्चात् धोइपखाली गरी उमाल्ने, कुटानीपिसानी गरेर लेबल टाँस गरी अग्र्यानिक बेसारका रूपमा बिक्री गर्नेछन्। व्यास नगरपालिका कार्यालयले व्यास–३ अनसन चौतारी नजिक निर्माण गरेको कक्षमा ल्याएर कृषकले बिक्री गर्ने शर्तमा कार्यालयले यो कार्यक्रमलाई अघि बढाएको हो। उत्पादित वस्तुलाई स्थानीय, प्रदेश र संघीय सरकारको सहयोगमा प्याक गरेर विदेश निर्यात गर्ने लक्ष्य छ। कार्यालयले कृषकलाई जग्गा बाँझो नराख्न र आयआर्जन गरी आत्मनिर्भर बनाउन बेसार (हलेदो) खेती प्रवर्धन कार्यलाई प्राथामिकता दिएको हो।