प्रहरीलाई घुस दिन खोज्ने एक पुरुष समातिए

9

धनगढी : कैलालीमा भन्सार छलीको मालसामान छाडिदिन भन्दै प्रहरीलाई घुस दिन खोज्ने एक पुरुष समातिएका छन्। बुधबार धनगढी उपमहानगरपालिका-२ त्रिनगर व्यारलमा भारतबाट भन्सार छली गरी ल्याएको आठ हजार बराबरको सामान पास गरेबापत घुस दिन खोज्ने भारतीय नागरिक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भारतको पलिया बस्ने ५० वर्षीय सुधिर गुप्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी कुलदीप चन्दले बताए।गुप्ताले भारतबाट ल्याएको अवैध समान भित्र्याउन प्रहरीलाई पाँच सय रूपैयाँ दिन खोजेका थिए। त्यसपछि उनलाई पक्राउ गरिएको चन्दले बताए। उनको साथबाट १५ डब्बा मिठाई, ७ पोका आन्टी नामक सुपारी, ३ पोका चियापत्ती, एक प्याकेट मिल्क पाउडर, १५ पाकेट पेठा, ३ पाकेट चुरन खट्टा मिठा, ८ डिब्बा चकलेट र हल्दी पाउडर एक पोका बरामद गरिएको छ।