शून्य समय : शरणार्थी प्रकरणमा स्वतन्त्र छानबिन माग

14

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले नक्कली भुटानी शरणार्थी प्रकरणमाथि गम्भीर र यथार्थपरक छानबिनको माग गरेका छन्। सांसदहरुले सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा प्रविधिको उच्च प्रयोग, नागरिकता विधेयक प्रमाणीकरण, जातीय विभेद्को अन्त्यलगायतका विषय उठान गरेका छन्। सांसद बिजुला रायमाझीले अर्घाखाँचीको भूमिकास्थान–५ का बाबुराम पुन भारतको पञ्जाब लडेर घाइते भएको र उनको परिवार विचल्ली भएकाले राज्यका तर्फबाट सहयोगका लागि आग्रह गरिन्। उनले वनजङ्गलमा डढेलो र आगलाग बढेकाले त्यसको नियन्त्रण र क्षतिपूर्तिबारे संसद्मार्फत् सरकारको ध्यानाकर्षण गराएकी छन्।सांसद विद्या भट्टराईले सरकारले सन् २०२३ देखि २०३३ सम्मलाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने योजनाअनुरुप नेपाल पर्यटन दशकको रणनीतिक कार्ययोजना सार्वजनिक गरिसकेको भए पनि हालसम्म राजधानी काठमाडौँमा पर्यटक बसपार्क स्थापना हुन नसेको विषय संसद्मा उठाइन्। पर्यटक बसपार्क नबनेका कारण काठमाडौँको सोह्रखुट्टेको सडकबाटै बस छुट्ने गरेको भन्दै उनले तत्काल पर्यटक बसपार्क निर्माणका लागि आग्रह गरिन्।

सांसद बीना लामाले सडक बालबालिका, वृद्धव्यक्ति लगायतको व्यवस्थापनका लागि पहल गरिनुपर्ने बताइन्। सांसद विमलेन्द्र निधिले नागरिकता विधेयक राष्ट्रपतिको कार्यालयबाट अब फिर्ता आउन नहुने र तत्कालै प्रमाणीकरण गरिनुपर्ने भनाइ राखे। सांसद शान्ति विकले पनि नागरिकता विधेयक चाँडो प्रमाणीकरणका आग्रह गरिन्। सांसद वीरबहादुर बलायरले कैलालीमा बाढी पहिरो पीडितलाई घरबासको व्यवस्था गरिनुपर्ने बताए। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा आन्दोलनमा बसेका बाढी र पहिरो पीडितका माग सम्बोधन हुनुपर्ने उनको भनाइ छ।