सवारी दुर्घटनामा ६ जनाको मृत्यु

24

काठमाडौं : देशका पाँच जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। काठमाडौं, शंखरापुर नगरपालिका-९ इन्द्रायणीस्थित सडकमा बा.प्र ०२-०११ प ४५१७ नम्बरको मोटरसाइकलले बागमती प्रदेश ०२-०३३ प ८१७८ नम्बरको स्कुटरलाई सोमबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक रामेछाप सुनपाती गाउँपालिका-२ घर भएका ५७ वर्षीय आङ्गे तामाङ शेर्पाको मृत्यु भएको छ। दुर्घटनाका गम्भीर घाइते भएका उनको शुष्मा कोइराला मेमोरियल अस्पताल हुँदै नेपाल मेडिकल कलेज जोरपाटीमा थप उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको छ।

सुनसरी, इटहरी उपमहानगरपालिका-६ स्थित सडकमा बा.२ क ७८६४ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री सोही उपमहानगरपालिका-१७ लबिपुर बस्ने ५२ वर्षीय केशव कुमार कार्कीको सोमबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-१ मालिका टोलस्थित सडकमा म.१ त ५७३ नम्बरको ट्याक्टरबाट झर्ने क्रममा हाम फाल्दा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ४८ वर्षीय देव दत्त भट्टको सोमबार दिउँसो मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल हुँदै थप उपचारको लागि भारतको बरेलीतर्फ लैजाने क्रममा बाटैमा मृत्यु हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका-२ बणी नम्बर २ चौराहस्थित सडकमा सु.प.प्र.००१ क १६५३ नम्बरको क्रेनको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-२ बाणी बस्ने ७० वर्षीय फुलपाती चौधरीको सोमबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। क्रेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कास्की, पोखरा महानगरपालिका-६ खहरेचोकस्थित सडकमा ग.२४ प ३१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार काठमाडौं कपन घर भएका १८ वर्षीय सफल खतिवडाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। रुपन्देही, तिलोत्तमा नगरपालिका-५ कफी कम्पनिस्थित सडकमा लु.३९ प ९४६३ नम्बरको स्कुटर अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक बुटवल उपमहानगरपालिका-११ देवीनगर बस्ने २२ वर्षीय दिपेश विकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो।