मधेश प्रदेशका तीन मन्त्रीले शपथ लिँदै

22

जनकपुरधाम : मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वको मधेस प्रदेश सरकारले आज मन्त्रीमण्डल विस्तार गर्ने भएको छ। नेपाली कांग्रेसका दुई र नेकपा एसका एक मन्त्रीसहित मन्त्रीमण्डल विस्तार हुने भएको हो।​नवनियुक्त मन्त्रीहरूले आजै दिउँसो ११ बजे शपथ लिने तयारी समेत भइरहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ। एमालेले समर्थन फिर्ता लिएपछि खाली रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीमा कांग्रेसका संसदीय दलका नेता समेत रहेका कृष्णकुमार यादव र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी काङ्ग्रेसकै वीरेन्द्र सिंहलाई दिने तयारी भइरहेको नेपाली कांग्रेस मधेस प्रदेशका सूचना तथा सञ्चार विभागका प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए।यस्तै, नेकपा एकीकृत समाजवादी गोविन्दबहादुर न्यौपाने पनि आज हुने मन्त्री मण्डलबाट मधेस सरकारमा सहभागी हुन लागेका हुन्। उनलाई भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिने तयारी भइरहेको न्यौपानेले बताए। यसअघि कृषि मन्त्रालयमा जनमतका वसन्त कुशवाहाले जिम्मेवारी सम्हालिरहेका थिए। लोकतान्त्रिक समाजवादी पार्टीले भने कुन मन्त्रालय पाउने भन्ने खुलेको छैन। यसअघि मधेस सरकारमा नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), जनमत र नेकपा माओवादी केन्द्र भएका थिए।