नक्कली भुटानी शरणार्थी प्रकरणमा ३३ जना संलग्न रहेको निष्कर्ष

23

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला प्रहरी परिसर टेकुले सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको छ। झण्डै दुई महिना लामो अनुसन्धानपछि प्रहरीले सोमबार अनुसन्धान प्रतिवेदन बुझाएको हो। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनि ठगी गर्ने कार्यमा ३३ जना संलग्न रहेको निष्कर्षसहित प्रहरीले प्रतिवेदन बुझाएको प्रहरी परिसरका प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिए। ३३ जनामध्ये १६ जना पक्राउ परेका छन् भने १७ जनालाई फरार प्रतिवादी बनाइएको छ। एसपी रिजालका अनुसार उनीहरुविरुद्ध २७ करोड ५० लाख ५७ हजार बिगो माग गर्न सुझाव दिइएको छ । एसपी रिजालले केहीलाई ठगी र संगठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुर (कीर्ते)मा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको बताए । साथै राज्यविरुद्धको कसुरको मुद्दा चलाउनसमेत प्रहरीले राय पेश गरेको रिजालको भनाई छ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै १०६ जना पीडितले ठगिएको भन्दै उजुरी दिएका छन्। पीडितको उजुरीपछि अनुसन्धानको क्रममा नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई विभिन्न समयमा प्रहरीले पक्राउ गरेको छ। त्यसैगरी केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसीपनि प्रहरी हिरासतमा छन् । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा निरजलगायत भने फरार छन् । प्रहरीको रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयले अध्ययन गर्नेछ। अध्ययन सकेर मुद्दा चलाउने विषयमा निर्णय गरिने सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले बताए।