मुसलमान केटासँग नेताले गरे छोरीको विवाह स्थगित

118

बीबीसी । भारतमा चर्चाको विषय बनेको एउटा विवाह औपचारिक समारोह अघि नै स्थगित गरिएको छ। पौडीका नगरपालिका अध्यक्ष एवं पूर्व विधायक यशपाल बेनामकी छोरीको विवाहको कार्ड वितरण भएपछि त्यो भाइरल बनेको थियो। उक्त विवाह ठूलो मुद्दा बनेपछि शनिवार बेनामले विवाह कार्यक्रम रद्द भएको जनाएका हुन्। खासमा यशपाल बेनामकी छोरीको विवाह अमेठीका एक जना मुसलमान युवकसँग हुन लागेको थियो।

दुवै पक्षका परिवार विवाहलाई लिएर सहमत थिए र पौडीमा मे २५, २६ र २७ मा विवाह कार्यक्रम राखिएको थियो।बेनामले ‘अहिले विवाहको माहौल छैन’ भन्दै उक्त कार्यक्रमलाई रद्द गरिदिएका हुन्। ‘२१ औँ शताब्दीका बच्चाहरू आफ्नोबारे आफैँ निर्णय लिनसक्छन्’  तीन दिनअघि सामाजिक सञ्जालमा एउटा कार्ड भाइरल हुन शुरू भएको थियो। त्यो पौडीका नगरपालिका अध्यक्ष यशपाल बेनामकी छोरीको विवाहको निमन्त्रणा पत्र थियो।

उक्त कार्डको माध्यमबाट मोनिका र अमेठीका मोनिस खानको विवाह समारोहपछिको भोजमा सहभागी हुन दुलहीकी आमा उषा रावत र पिता यशपाल बेनामकातर्फबाट निम्तो दिइएको थियो। कार्ड भाइरल भएपछि आफ्नी छोरीको विवाह एक जना मुस्लिम युवकसँग गराएको भन्दै यशपाल बेनाममाथि ट्रोल गरिएको थियो।सामाजिक सञ्जालमा गरिएको ठट्टालाई जवाफ दिँदै यशपाल बेनामले अहिले २१ औँ शताब्दी भएको र छोराछोरीहरू आफ्नो भविष्यबारे आफैँ निर्णय लिनसक्ने भएको जवाफ दिएका थिए।

उनले आफ्नो छोरीको खुसी देखेर पनि परिवारले यो विवाह अघि बढाउने निर्णय लिएको बताएका थिए।दुवै परिवारको सहमतिपछि विवाहको कार्यक्रम तय गरिएको थियो। तर उनलाई ट्रोलसँगै धम्की पनि आउन थाल्यो र विरोध प्रदर्शनहरू पनि हुन थाले। यसैबीच एउटा हिन्दुवादी सङ्गठनका कुनै पदाधिकारीले बेनामसँग फोनमा गरेको कुराकानी पनि भाइरल बन्न पुग्यो। त्यसमा हिन्दुवादी सङ्गठनका पदाधिकारीले बेनामलाई विवाह रोक्नका लागि धम्की दिएका थिए।
बद्रीनाथको यात्रामा निक्लिएका हरियाणाको बजरङ्ग दलका केही कार्यकर्ताहरू पनि शनिवार पौडी पुगेका थिए र उनीहरूले जिल्लाका प्रमुख अधिकारीलाई ज्ञापनपत्र दिएर विरोध जनाएका थिए।

कोटद्वारमा बजरङ्ग दलले यो विवाहको विरोधमा प्रदर्शन नै गरेको थियो। भारतको सत्तारूढ दल बीजेपीका प्रदेश अध्यक्ष महेन्द्र भट्टले उक्त मामिलाबारे आफूलाई जानकारी नभएको र त्यो बेनामको व्यक्तिगत मामिला भएको प्रतिक्रिया दिएका थिए। तर, आफ्नी छोरीको रोजाइलाई सम्मान गर्ने २१ औँ शताब्दीको पिताका रूपमा आफूलाई प्रस्तुत गरेका बेनाम शनिवारसाँझ सम्म पछि हटिसकेका थिए।