राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरू

27

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरू भएको छ। पार्टी कार्यालय बसुन्धरामा सुरू भएको बैठकमा सरकारलाई दिएको समर्थनबारे छलफल गर्ने कार्यसूची छ। बैठकमा उपनिर्वाचनको समीक्षा र पार्टीको संगठन विस्तार पनि एजेन्डाका रूपमा रहेको रास्वपाका एक केन्द्रीय सदस्यले जानकारी दिए।

उपनिर्वाचनमा चितवन २ र तनहुँ १ मा शानदार मतसहित विजयी भएपछि रास्वपामा सरकारलाई दिएको समर्थन फिर्ता लिएर संगठन निर्माणमा लाग्न दबाब छ। बैठककै पूर्वसन्ध्यामा पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता पनि गरेका थिए। भेटमा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई सरकारमा आउन प्रस्ताव गरेका थिए। जवाफमा लामिछानेले न्यूनतम साझा कार्यक्रममा भ्रष्टाचारका पुराना फाइल खोल्ने विषय हटाइएको बारे चासो राखेको बताइएको छ। त्यस्तै उनले आफ्नो दलले पाएका पुराना मन्त्रालय के हुन्छ भनेर पनि जिज्ञासा राखेको बताएका छन्।

सोमबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले रास्वपालाई सरकारमा आउन आग्रह गर्दै भ्रष्टाचारका फाइल खोल्न तयार रहेको बताएका छन्। यसैबीच रास्वपाको संसदीय दलको बैठक पनि आजै बस्दैछ। दिउँसो तीन बजे पार्टी कार्यालयमै बस्ने बैठकले दलको नेतामा रवि लामिछानेलाई चुन्ने कार्यसूची छ।