२६ जना चिनियाँ पर्यटक नेपाल भित्रिए

38

काठमाडौँ । नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ पर्यटक नेपाल भित्रिन थालेका छन् । तीन वर्षदेखि बन्द भएको रसुवागढी नाका यही शनिबारदेखि खुला भएसँगै २६ जना पर्यटक नेपाल भित्रिएका हुन् । अध्यागमन कार्यालय रसुवाका प्रमुख कृष्णप्रसाद पौडेलका अनुसार यही शनिबार र आइतबार दुई दिनमा २६ पर्यटक नेपाल भित्रिएका हुन् । ती चिनियाँ पर्यटकहरु काठमाडौँका लागि प्रस्थान गरिसकेको र नेपालबाट पनि आइतबार पाँचजना चिनियाँ पर्यटक मितेरीबाट केरूङतर्फ गएका छन् ।

यसैगरी केरूङ घुम्नका लागि शनिबार र आइतबारमा एक सय छजना नेपाली मितेरी पुलबाट चिनियाँ क्षेत्रमा प्रस्थान गरेको सिमाक्षेत्रमा कार्यरत सुरक्षाकर्मीको भनाइ छ । सिमाक्षेत्रमा बसोबास गर्ने नेपालीका लागि चीनको केरूङ प्रान्तमा जान पाउने गरी रसुवावासीका लागि अध्यागमन कार्यालयले विगतका वर्षमा जारी गरेको प्रवेश अनुमतिपत्र नवीकरण गराउन रसुवाको घट्टोलास्थित उक्त कार्यालयमा भीड बढ्न थालेको छ ।