भक्तपुरमा चैत २७ गतेदेखि बिस्केटजात्रा सुरु हुने

97

भक्तपु्र । यस वर्ष चैत २७ गतेदेखि विश्वप्रसिद्ध बिस्केटजात्रा
सुरु हुने भएको छ । नयाँवर्षमा भक्तपुरका नेवार समुदायले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार यो जात्रा मनाउने गर्दछन् र

नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिङ्खेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो ढालेर जात्रा मनाइन्छ ।

जात्राका लागि अत्यावश्यक रहेको भैरव र भद्रकालीको रथ निर्माण सुरु भएको छ ।

टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा एक महिना अगाडिदेखि रथ निर्माणका लागि बिभिन्न आकारका काठ तयार गर्ने गरिन्छ । रथको पाङ्ग्रा बनाउने, बिग्रिएका सामानको मर्मत गर्ने, बुट्टा बनाउने कार्य भइरहेको गुठी संस्थान भक्तपुरले जानकारी दिएको छ ।
यो वर्ष नयाँ काठ किनेर एउटा नयाँ पाङ्ग्रा निर्माण गरिएको र अरु पाङ्ग्रा मर्मत गरिएको छ भने १६ गतेदेखि भैरवको रथको पाङ्ग्रा र विभिन्न पाटपुर्जा जडान गर्दै करिब २३ गतेसम्म प्यागोडा शैलीको तीन तले रथ निर्माण सम्पन्न गरेर रङरोगन गरिने छ ।

रथ निर्माणका लागि दाताबाट ठूलो काठ आएको र गुठी संस्थानले रथ निर्माण तथा मर्मत आवश्यक पर्ने काठ समयमै ल्याएको छ ।
५५ हात लामो, नाङ्लोजस्तो फराकिलो फेद भएको लिङ्गो जात्राका लागि चाहिन्छ, गत वर्ष दुई लिङ्गो रहेकाले यस वर्ष नयाँ लिङ्गो भने ल्याइएन, यस वर्ष २७ गते भैरवको रथ दिउँसो ३ बजे तानेर अपराह्न ५ बजे सम्पन्न गर्ने निर्णय गरिएको छ ।

पोटरीस्क्वायमा प्रजापति समाजले उठाउने बिना हातको लिङ्गो भने भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित सल्लाघारीबाट ल्याइएको छ । यस वर्ष बिस्केट जात्राका लागि पूजा खर्चबाहेक रथ निर्माण, डोरी, बेत, विभिन्न साइजका काठ खरिद एवं ज्यालालगायत रु २५ लाख बजेट रहेको छ ।

लिच्छवीकालदेखि सुरु भएको सो जात्रा वैशाख १ गतेभन्दा चार दिनअगाडि भैरव र भद्रकालीको रथयात्रा गरी सुरु गरिने परम्परा छ । जात्राको मुख्य आकर्षण भनेकै रथजात्रा र लिङ्गोजात्रा हो ।