लहान । सिरहामा इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् ।
गोलबजार नगरपालिका–८ स्थित सगुन इँटा उद्योगको पर्खालले किच्दा भारतको पश्चिम बङ्गाल राज्यकी महिमा वीवीको आज बिहान मृत्यु भएको हो । इँटाभट्टामा पोलेको इँटा निकाल्ने क्रममा भट्टीको पर्खाल भत्किएर किच्दा घाइते भएकी उनको उपचारका लागि लहान लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोल बजारले जनाएको छ । घाइते ३५ वर्षीया बवी वीवी र ४० वर्षीया ममता वीवीको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।