हिमपातका कारण ढोरपाटनमा सिकार खेल्न समस्या

41

गलकोट । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा अहिले सिकारको दोस्रो मौसम चलिरहेको छ । फागुनदेखि वैशाखसम्म चल्ने यस मौसमका लागि १२ नाउर र आठ झारलको सिकार खेल्नका लागि विदेशी सिकारीले अनुमति पाइसकेका छन् । विदेशी सिकारीलाई बेमौसमी हिमपातले त्यहाँ पुग्न र सिकारमा रमाउन समस्या बनाएको छ ।

हेलिकप्टरमार्फत सिकार ब्लक क्षेत्रमा पुग्ने विदेशी सिकारीलाई बेमौसमी हिमपातका कारण समस्या भएको ढोरपाटन सिकार आरक्ष कार्यालयले जनाएको छ । दोस्रो सिकार याम सुरु भइसके पनि अहिलेसम्म नाउर र झारलको सिकारका लागि हिमपातले सिकार व्यवस्थापनमा आरक्षलाई कठिनाइ भइरहेको आरक्षका सूचना अधिकारी अविनाश थापाले जानकारी दिए ।

‘विदेशी सिकारीको निश्चित समय विभागबाटै दिइएको हुन्छ, उक्त समय सीमाभित्रै सिकार गरेर फर्किसक्नुपर्ने हुन्छ, सुनदह ब्लक र बार्से ब्लकमा तोकिएको सिकार बेमौसमी हिमपातका कारण एक हप्ता प्रभावित बनिसकेको छ, अहिले दुवै ब्लकमा सिकारी ढिलो गरी पुग्नुभएको हो’, सूचना अधिकारी थापाले भने, ‘चैत ३ गते दुई सिकारी कम्पनीले हेलिकप्टरमार्फत सिकारी ल्याउने कार्य तालिका थियो, तर हिमपात र मौसम खराबीका कारण बार्से ब्लकका सिकारी मङ्गलबार र सुनदह ब्लकका सिकारी बुधबार मात्रै आएका छन् ।’

थापाका अनुसार यस पटक ढोरपाटन क्षेत्रमा ढिलो गरी हिमपात हुँदा समस्या भएको हो । आरक्षले तोकिएको स्थानमा दुवै हेलिकप्टर पुग्न नसक्दा केही तलबाट सिकारी पैदल मार्गमार्फत सिकार खेल्न ब्लकतर्फ लागेको जनाएको छ । मौसममा सुधार भए सबै नाउर र झारलको सिकार गर्न सम्भव भने रहेको आरक्षको भनाइ छ । अधिकांश विदेशी सिकारीले भने चैतको दोस्रो सातापछि मात्रै सिकार अनुमति लिएका कारण समस्या नहुने आरक्षको भनाइ छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ढोरपाटन सिकार आरक्ष केन्द्रमा दोस्रो यामको सिकार पर्यटकका लागि बाह्र नाउर र आठ झारलको सिकार अनुमति दिएको थियो । आरक्षका अनुसार सिकार खेल्न विदेशी सिकारी बन्दोबस्तीका सामग्रीसहित हेलिकप्टरमार्फत ढोरपाटन आउने गरेका छन् भने आरक्षका कर्मचारी सिकारीभन्दा अगाडि नै सिकार खेल्ने स्थानमा आवश्यक सामग्रीसहित पुग्ने गरेका छन् ।