हतकडीसहित भागेका अभियुक्त पक्राउ

31

वीरगञ्ज । हतकडीसहित भागेका ज्यान मार्ने उद्योगका एक जना प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले हतकडीसहित भागेका प्रतिवादी बाराको पचरौता नगरपालिका–८ बाजोपटी टोल बस्ने ३६ वर्षीय अंसिकलाल यादवलाई पक्राउ गरेको हो।

पक्राउ परेका यादवसहित ६ जनाले गत कार्तिक १९ गते आफ्नै टोलका कपिलदेव यादव,गोपाल यादव र दुगान्धीदेवीलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको प्रहरीको भनाइ छ। सोही मुद्दामा फरार रहँदै आएका यादवलाई गत पुस ४ गते करैयामाई गाउँपालिका–८ बेलाहीमा लागेको महाबिरी झण्डा मेलाबाट नियन्त्रणमा लिइएकोमा यादव हतकडीसहित फरार भएका थिए।

उनलाई प्रहरीले बारागढी गाउँपालिका–४ मा लुकिछिपी बसिरहेको अवस्थामा फेरि पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी पुरुषोतम पाण्डेले जानकारी दिए। सोही मुद्दाका प्रतिवादी बाजोपटी टोलकै ३८ वर्षीय वृजकिशोर प्रसाद यादव अदालतले तोकेको एक लाख धरौटी बुझाउन नसक्दा वीरगञ्ज कारागार चलान भएका थिए।