बँदेल र बाँदरको दुःखले किसान आँप खेतीतर्फ

46

धनकुटा । जङ्गली बँदेल र बाँदरले अन्नबाली खान थालेपछि धनकुटा नगरपालिका–९ छिम्सुवाबेँसीका किसान आँप खेतीमा लागेका छन् । डेढ दशकभन्दा अघिदेखि बँदेल र बाँदरको ज्यादतीबाट बच्न यहाँ ३५ परिवारले आँप खेती गर्न थालेका हुन् ।

अहिले छिम्सुवावासी अन्नबाली लगाउँदा बाली जोगाउन पर्ने तनावबाट मात्र मुक्त भएका छैन उनीहरूले आँप खेतीबाट मनग्य आम्दानीसमेत लिन थालेका छन् । तमोर नदी किनारसँगै पहाडको फेदीमा रहेको यस गाउँमा पहिला दिनमा बाँदर र रातमा बँदेल रुँघेर बस्नुपर्ने बाध्यता थियो तर आँप खेती लगाएपछि चौबिसै घण्टा बाँदर र बँदेल रुँघ्नुपर्ने बाध्यताको अन्त्य भएको बताउछन् । स्थानीय ६४ वर्षीय डेढ राज दाहाल ।’ पहिले अरु बाली लगाउँदा दिउँसो बाँदर र राति बँदेल रुँघ्नुपथ्र्यो’, उनले भने, “तर आँप लगाएपछि अहिले दिनमा बाँदर रुँघे पुग्छ ।’ बाह्र वर्षअघिदेखि १९ रोपनीमा आँप लगाएका दाहालले अहिले वार्षिक रु तीन लाखसम्मको आँप बेच्ने गरेको बताए । तथापि असिना पानीजस्ता प्राकृतिक प्रकोपका कारण आँप खेतीमा पनि जोखिम कायम नै रहेको दाहालको भनाइ छ ।

त्यस्तै २५ रोपनीमा आँप खेती गरिरहेकी सोही गाउँकी ५५ वर्षीया उषादेवी विष्टले बँदेल र बाँदरले केही खानै नदिएपछि सबै जमिनमा आँप लगाएको सुनाइन् । विसं २०५३ देखि आँप रोप्न सुरु गरेर अहिले बगैँचा बनाएकी विष्टले त्यो बेला सम्झँदै भनिन्, ‘भर्खरै बिहे गरेर आएकी थिएँ, राति बारीको मकैमा बँदेल छिरेछ, बिहान हेर्दा सिरानबाट तलैसम्म लिपेको थियो ।’ त्यो बेलादेखि सारा संसार गुहार लगाउँदा पनि यसको समाधान नभएपछि सबै गाउँले आँप खेतीतर्फ लागेको उनले जानकारी दिइन् ।

बस्नेतले जस्तै विष्टले पनि वार्षिक रु तीन लाखसम्मको आँप बेच्ने गरेको सुनाइन् । बँदेलले रुख चढेर आँप नखाए पनि भुईँमा भरेको आँप खाएर हैरान पारेको उनको गुनासो छ । घरायसी सबै गर्जो र आराम बिरामी हुँदासमेत आँपको बगैँचा देखाएर ऋणपान गर्नुपर्ने हुँदा आँप नफलेको वर्ष भने ज्यादै समस्या हुने गुनासो उनले सुनाइन् ।