बागमतीका मन्त्रालय भवन हेटौँडाको हटियामा बनाउने निर्णय

46

काठमाडौँ । बागमती सरकारले मन्त्रालयका भवनहरू हेटौँडा उपमहानगरपालिका–१६ हटियामा बनाइने भएको छ । प्रदेश मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले हटियाको शिबम् सिमेन्ट उद्योगसँग जोडिएको जग्गामा मन्त्रालयको भवन र अन्य महत्त्वपूर्ण पूर्वाधारहरू बनाउन वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने निर्णय गरेको हो ।

प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाका अनुसार प्रदेश सरकारले मकवानपुरका विभिन्न स्थानमा जग्गा पहिचान गरी त्यस स्थानमा प्रदेश संरचना बनाउन संघीय सरकारलाई सिफारिस गरे पनि हटियाको कित्ता नम्बर १९६ मा रहेको ५४ विगाह जमिनको मात्र संघीय सरकारबाट स्वीकृति प्राप्त भएको छ । सिफारिस गरिएका अरु जग्गा प्राप्तिको प्रक्रियामा रहेको उनको भनाइ छ ।

प्रदेश सरकारले हेटौँडा–१७ डिपोचौरमा मकवानपुर बहुमुखी सहकारी संस्था लिमिटेडको नाममा रहेको कित्ता नम्बर १८३ को १२ बिगाह, हेटौँडा सिमेन्ट उद्योगले अधिग्रहण गरी प्रयोगमा नआएको हेटौँडा-९ लामसुरे हाइटमा २० बिगाह र हालको प्रदेशमन्त्री निवास खण्डदेखि दक्षिण भागमा रहेको ४ बिगाह गरी करिब २४ विगाह जग्गा बागमती प्रदेश सरकारको नाममा ल्याउनको लागि केन्द्र सरकारसँग माग गरेको थियो ।

यसैगरी नापी नभएका हेटौँडा–६ चित्रेपानीको करिब २४ बिगाह र हेटौँडा–१९ लेबटमा रहेको करिब ८० बिगाह जग्गा समेत प्रदेश सरकारको नाममा ल्याउनको लागि संघीय सरकारसँग अनुरोध गरिएको थियो ।