काठमाडौँ । नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि (सोमबार) पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । नव निर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने छन् । नेपाली काँग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।