Monday, September 28, 2026
Home समाचार जङ्गली जनावरबाट खेती जोगाउन तारजाली वितरण

जङ्गली जनावरबाट खेती जोगाउन तारजाली वितरण

38

अर्घाखाँची । जङ्गली जनावरले खेतबारीमा लगाएको अन्नबाली, तरकारी तथा फलफूल खाएर दुःख दिन थालेपछि अर्घाखाँचीको धातिवाङमा जङ्गली जन्तुको नियन्त्रण गर्न तारजाली वितरण गरिएको छ ।

बाँदर, बँदेल, दुम्सी, खरायोलगायत चराचुरुङ्गीले खेतबारीमा लगाएको अन्नबाली खाँदा कृषक हैरान भएकाले पाणिनी-६ धातिवाङमा ९८ कृषकलाई तारजाली वितरण गरिएको वडाध्यक्ष कृष्णप्रसाद पौडेलले बताए । रैथाने बालीका रूपमा रहेको मकै, गहुँलगायतका सबै अन्नबालीमा बाँदरले बदमासी गर्दा कृषक हैरान छन् । ‘बिहानै उठेर साँझ रातिसम्म बारीमा नै चौकीदारी गर्ने बाध्यता कृषकमा छ’, चालु आर्थिक वर्षमा वडा कार्यालयले रु चार लाख विनियोजन गरेर जङ्गली जन्तु तथा बादर नियन्त्रण गर्न तारजाली वितरण गरेको हो ।

निर्वाचनको समयमा सबैभन्दा समस्या रहेको बाँदर नियन्त्रण गर्नुपर्ने जनताको माग रहेसँगै बाँदर धपाउन कृषकलाई तारजाली वितरण गरेको वडाध्यक्ष पौडेलको भनाइ छ । वडा कार्यालयको ५० र कृषकको ५० प्रतिशत लगानीमा छ मिटर चौडाइ र एक सय मिटर लम्बाइ भएको जाली गाउँभरिका व्यावसायिक ४६ कृषकलाई ९८ सय मिटर वितरण गरेको हो । नेपालमै नमूना प्रकृतिको कार्यक्रम भई तीन वर्षदेखि अभ्यासमा आएकाले बाँदर तथा जङ्गली जन्तु नियन्त्रण गर्न तारजाली निकै प्रभावकारी हुने पाणिनी गाउँपालिकाका कृषि शाखा प्रमुख मेगराज पौडेलले बताए ।