उपराष्ट्रपतिको उम्मेदवार फरक समुदायका महिला बनाउन माओवादी घटकको सुझाव

22

काठमाडौँ । माओवादी घटकले फरक समुदायका महिला उपराष्ट्रपतिको उम्मेदवार बनाउन सुझाव दिएको छ। शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरूको बैठकले यस्तो सुझाव दिएको हो।

बैठकपछि नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले उपराष्ट्रपतिमा लैंगिक रूपले फरक र सामुदायिक फरक हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताए।

उनले अहिलेको अवस्था स्थितिअनुसार फरक समुदायको महिला नै भए राम्रो हुनेमा जोड दिए। गुरुङले आफ्नो पार्टीले फरक समुदायको महिलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन गठबन्धनका घटकहरुले पहल गर्नुपर्ने अभिव्यक्ति रहेको उल्लेख गरे।

गुरुङले भने, ‘उपराष्ट्रपतिमा जसले सिफारिस गरेको भएपनि संविधानतः राष्ट्रपति र उपराष्ट्रपतिको बीचमा लैंगिक रुपले फरक र सामुदायिक फरक भन्ने छ। अभ्यास हामीले के बसाल्ने प्रक्रियाको सुरु गरियो भने एउटा पुरुष भए अर्को महिला हुनुपर्छ भन्ने मान्यता बसिसकेको छ।’

नेपालको अहिलेको अवस्था स्थिति सबैतिरबाट हेर्दा फरक समुदायको महिला नै भए बेस हुन्थ्यो। हामीले परामर्श दिनुपर्दा लैंगिक रुपले फरक हुनुपर्छ। महिला दिँदा राम्रो हुन्छ।’ महासचिव गुरुङले उपराष्ट्रपतिको निर्वाचन सकिएसँगै निर्वाचन आचारसंहीता सकिने भएकाले ५ गतेपछि मात्रै सरकार बिस्तार हुने जानकारी दिए।

बैठकले शान्ति प्रक्रियालाई स्थापित गर्ने प्रक्रियाहरु अघि बढाउन संयुक्त अपिल प्रकाशन गर्ने, संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते नागरिक समाजसँग शान्ति प्रक्रियाको बारेमा अन्तरक्रिया गर्ने निर्णय गरेको गुरुङले जानकारी दिए।