काठमाडौँ । नेपाल प्रेस युनियनका नेता, साँखु शाखाका पूर्व अध्यक्ष एवं लावण्य सन्देश साप्ताहिकका सम्पादक पवनलाल श्रेष्ठलाई ट्रिपरले ठक्कर दिदा निधन भएको छ । उनको गए राति काठमाडौँको शङ्खरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा टिपरको ठक्करबाट ज्यान गएको हो ।
उक्त दुर्घटनामा अर्का एक व्यक्तिको समेत मृत्यु भएको छ । गए राति साँखु–जोरपाटी सडकखण्डमा साँखुबाट ब्रह्मखेल जाँदै गरेको बा ५ ख २४१४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा ९४ प ४४९८ र बा८२प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवैजनाको मृत्यु भएको हो । दुर्घटनामा शङ्खरापुर नगरपालिका–७ साँखुका ५० वर्षीय पत्रकार श्रेष्ठ र सोही नगरपालिका–९ का २२ वर्षीय हरि खड्काको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते पत्रकार श्रेष्ठको नेपाल मेडिकल कलेज अत्तरखेलमा तथा खड्काको शङ्करापुर अस्पताल साँखुमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । दुर्घटनामा २० वर्षीया पुनम श्रेष्ठ घाइते भएकी छिन ।
उनको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको प्रवक्ता रिजालले बताए । मृतक श्रेष्ठ साँखुबाट प्रकाशित लावण्य सन्देश साप्ताहिकका प्रधानसम्पादक थिए । उनी नेपाल प्रेस युनियन साँखु शाखाका संस्थापक अध्यक्षसमेत थिए । दुर्घटनापछि फरार टिपर चालक २६ वर्षीय दिनेश तामाङलाई प्रहरीले राति नै सिन्धुपाल्चोकबाट पक्राउ गरी काठमाडौँ ल्याएको छ । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको प्रवक्ता रिजालले बताए ।