सुरु भयो राष्ट्रपति चयनका लागि मतदान

22

काठमाडौँ । तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । बिहीबार (आज) बिहान १० बजेदेखि संसद् भवन बानेश्वरमा मतदान सुरु भएको हो ।

राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरिसकेका छन् । निर्वाचनमा दुई पूर्व सभामुख रामचन्द्र पौडेल नेपाली काँग्रेस) र सुवासचन्द्र नेम्वाङ (नेकपा एमाले) बीच प्रतिस्पर्धा हुँदै छ । काँग्रेसका पौडेललाई ९ दलको साथ छ भने एमालेका नेम्वाङलाईआफ्नो पार्टीको मात्रै भर छ । राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्षे कार्यकाल आइतबार सकिँदै छ । निर्वाचन आयोगले उनको कार्यकाल सकिनुअघि नै नयाँ राष्ट्रपति चुन्न लागेको हो ।

बिहान १० बजे सुरु भई मतदान अपराह्न ३ बजेसम्म हुने छ । मतदान सकिएको बढीमा ४ घण्टाभित्र परिणाम आइसक्ने बताइएको छ । निर्वाचनमा प्रतिनिधिसभाका २ सय ७२ (फरार १ सहित), राष्ट्रिय सभाका ५९ र सातै प्रदेशसभाका ५ सय ५० गरी ८ सय ८१ मतदाताले भाग लिनेछन् । संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यको मतभार फरक छ । संघीय संसद् सदस्यको मतभार ७९ छ भने प्रदेशसभा सदस्यको ४८ छ । दुवै सभाको तत्काल कायम रहेका मतदाताको कुल मतभार भने ५२ हजार ६ सय २८ रहेको छ ।

निर्वाचनमा १४ वटा दलले सहभागिता जनाउँदै छन् । राप्रपाले राष्ट्रपति निर्वाचनमा भाग नलिने घोषणा गरेको छ । राप्रपाका प्रतिनिधिसभामा १४ र प्रदेशसभामा २८ सांसद छन् । उनीहरूको मतभार २ हजार ४ सय ५० छ । तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछ । कुनै उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेमा दोस्रो चरणमा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारी मतदान हुनेछ । त्यस्तो मतदानमा कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति निर्वाचित हुनेछ ।