Tuesday, September 22, 2026
Home समाचार गृहको निगरानी दुर्गा प्रसाईं, कानुन उल्लंघन गरेमा पक्राउ गरिने

गृहको निगरानी दुर्गा प्रसाईं, कानुन उल्लंघन गरेमा पक्राउ गरिने

113

काठमाडौं । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका गतिविधिमाथि निगरानी बढाएको छ। काठमाडौं उपत्यकाभित्र र बाहिरका विभिन्न कार्यक्रममा चर्को भाषण गरिरहेका उनका गतिविधिमाथि सुक्ष्म निगरानी भइरहेको मन्त्रालयका एक अधिकारीले बताए। पछिल्लो समय राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान सुरू गरेका प्रसाईंले बैंक तथा वित्तिय संस्थाले ज्यादती गरेको भन्दै त्यसविरूद्ध पनि विभिन्न कार्यक्रम गरिरहेका छन्।
प्रसाईंकै नेतृत्वमा कालोमोसो अभियान पनि चलाइएको छ। ‘ज्यादती गर्ने’ बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूमाथि कालोमोसो दल्ने भन्दै चितवनबाट यो अभियान सुरू गरिएको थियो।

यसका संयोजक शम्भु थापा छन्। थापालाई जिल्ला प्रहरी कार्यालय चितवनले बुधबार बिहान भरतपुरबाट सोधपुछका लागि नियन्त्रणमा लिएको छ। चितवन प्रहरीका अनुसार सार्वजनिक रूपमा अमर्यादित र अस्वभाविक अभिव्यक्ति दिई समाजमा अफवाह फैलाई सार्वजनिक शान्ति भंग गरेको कसुरमा थापालाई पक्राउ गरिएको हो। उनीमाथि अनुसन्धान भइरहेको छ। अनुसन्धान सकिएपछि उनीविरूद्ध कुन मुद्दा चलाउने भन्ने टुंगो लाग्नेछ।

प्रसाईंले कालोमोसो अभियान सुरू गरेपछि नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले सुरक्षा प्रत्याभूति गराउन भन्दै मन्त्रालयमा ज्ञापनपत्र बुझाएका थिए। प्रसाईलाई गृहको अनुसार अभियान मात्रै चलाए पक्राउ नगरिने तर कानुन उल्लंघन गरेको पाइएमा भने पक्राउ गरिने छ । फागुन १९ गते गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बैंक तथा वित्त संस्थाका कर्मचारीमाथि दुर्व्यवहारका घटना भएको भन्दै सुरक्षा दिन र अवाञ्छित क्रियाकलाप रोक्न निर्देशन दिएको थियो।