अरनिको राजमार्ग साँगादेखि धुलिखेलसम्मको सडक विस्तार सुरु, तस्विरमा हेरौं

87

भक्तपुर । अरनिको राजमार्ग साँगादेखि धुलिखेलसम्मको सडक विस्तार सुरु भएको छ । काभ्रेपलाञ्चोक जिल्लाको साँगादेखि धुलिखेलसम्मको पहिलो चरण र भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको साँगासम्मको सडकखण्ड दोस्रो चरणमा सक्ने गरी छुट्टाछुट्टै दुई चरणमा सम्झौता भइसकेको छ । कुल १५.५ किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल ८.४ किलोमिटर सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा सक्ने गरी पाएको छ । उक्त खण्डको ०७९ मंसिर २७ गते तीन वर्षभित्र सक्ने गरी ठेक्का सम्झौता भएको हो ।

दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक–साँगा सडकखण्ड ७.५ किलोमिटर रहनेछ । उक्त खण्डको ठेक्का लागेको हो । सो कार्यकोलागि बन्धन भगवती जेभीसँग तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भइसकेको विभागले जनाएको छ ।सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयले सडकको बीचबाट दायाँबायाँ २५–२५ मिटरको मापदन्डअनुसार राजमार्गअन्तर्गत पर्ने चार नगरलाई पत्राचार गरी लगत संकलन कार्यमा सहयोग गर्न अपिलसमेत गरेको छ । सडक तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको हो । वि.सं. २०१७ मा राजमार्ग बन्दा सडक दायाँबायाँ २५–२५ गज अर्थात् २२.८६ मिटर कायम गरिएको थियो । सरकारले ०३१ सालमा सडक ऐन परिवर्तन गरी लोकमार्ग फराकिलो बनाउन चाहेमा क्षतिपूर्ति दिएर मात्रै अधिग्रहण गर्ने निर्णय गरेको थियो । पुल निर्माणका लागि भने छुटै ठेक्का आह्वान गरिने आयोजनाले जनाएको छ ।

तस्विरहरुः काभ्रेका पत्रकार देवराज के.सीले खिच्नुभएको हो ।