साम्राज्ञी फ्लप फिल्मकी धनी बन्दैछिन्

45

काठमाडौं । फिल्म ‘ड्रिम्स’बाट सशक्त रुपमा उदाएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले दोस्रो फिल्म ‘ए मेरो हजुर २’बाट पनि सफलताको स्वाद चाखिन् । यी दुई फिल्मले उनलाई बलियो स्टारडम मात्र दिलाएनन्, राम्रो अभिनय गर्न सक्ने अभिनेत्रीको रुपमा पनि चिनायो । लगभग यसपछि उनले करिअर पछाडि फर्केर हेर्नु परेको छैन । उनलाई फिल्ममा लिन निर्माताहरुबीच प्रतिस्पर्धाकै अवस्था छ ।

तर, करिअरको सुरुवाती दुई फिल्मबाहेक उनले सम्झनलायक हिट फिल्म देख्न पाएकी छैनन् । तेस्रो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ न हिट न फ्लप रह्यो । यसपछि त फ्लपको श्रृंखला रोकिएको छैन । ‘कायरा’, ‘मारुनी’, ‘रातो टीका निधारमा’ हुँदै यस वर्ष आएका दुई फिल्म ‘तिम्रो मेरो साथ’ र ‘ह्यारी कि प्यारी’ले पनि उनलाई साथ दिएनन् । चार वर्षमा उनका पाँच फिल्म फ्लप भैसकेका छन् ।

‘ए मेरो हजुर २’को सफलतापछि लभस्टोरी फिल्ममा निर्विकल्प झैं बनेकी उनी लगातारको असफलताले निराश बनेकी छन् । ठूलो आश गरेको फिल्म ‘ह्यारी कि प्यारी’ समेत नचलेपछि उनले यतिखेर अफर आएका फिल्महरु काम गर्ने इच्छा नभएको भन्दै नकार्ने गरेको चर्चा छ । अब उनले संकटउन्मुख करिअरलाई बचाउनका लागि टिम र स्क्रिप्ट छनोटमा विशेष ध्यान दिन जरुरी देखिन्छ ।

उनले तत्काल नयाँ फिल्म साइन नगरे पनि पाइपलाइनमा केही फिल्म छन् । उनले लकडाउनभन्दा अगाडि हेमराज विसी, मिलन चाम्स र प्रवेश पौडेलको फिल्म साइन गरेकी थिइन् । तर, यी फिल्म बन्छन् या बन्दैनन्, अन्योल छ । एउटा हिट फिल्मको दबावमा रहेकी साम्राज्ञीले अब छनोट गर्ने फिल्मले करिअरको रुपरेखा निर्धारण गर्नेछ । यसैले उनी संयमित र गम्भीर हुन आवश्यक छ ।