काठमाडौं । लास व्यवस्थापन गर्न ६२ वर्षीय रमानन्द राम आइतबार मध्यरातमा हस्याङफस्याङ गर्दै शव बोक्ने गाडी खोज्दै कोसी अस्पतालमा पुगेपछि एउटा घटनाको रहस्य बाहिर आएको छ । प्रहरीले मोरङको बुढीगंगा–२ स्थित अमाहीका नरसिंह चौधरीको घरमा राति खोजतलास गर्दा उनको घरको गाईगोठमा बोरामा हालेको अवस्थामा महिलाको लास फेला पर्यो ।
बोरामा भेटिएको उक्त लास विराटनगर १९ मिलन चोक कि २८ वर्षीय प्रियंका सुनारको पुष्टि भएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए । प्रियंकाका ८ वर्षीय छोरा र ६ वर्षीया छोरी छन् । उनको माइतीघर भारतमा पर्दछ। उनका पति २९ वर्षीय रमेश साहले आइतबार घुम्न जाने भन्दै साँझ प्रियंकालाई मोटरसाइकलमा हालेर रमानन्द र उमेश सरदारसहित चिनजानका बुढीगंगाका नरसिंहको घरमा लगेर हत्या गरेका थिए । त्यसपछि लास बोरामा हालेर गाईगोठमा राखेर शव व्यवस्थापनको तयारी गर्न शव वाहन खोज्न छिमेकी रमानन्दलाई अस्पताल पठाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । पारिवारिक सम्बन्धमा आएको खटपटका कारण नै प्रियंकाको हत्याको कारण देखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रियंकालाई उनका पति रमेशले परपुरुषसँग लागेको बात लगाउँदै पटकपटक यातना दिने र झगडा गर्दै आएको खुलेको छ । यो विषयमा पतिपत्नीबीच पटकपटक विवाद हुँदा विगतमा प्रहरीले पनि मिलाउँदै आएको थियो, स्थानीयले भने ।