काँग्रेस नेताहरूलाई प्रधानमन्त्री प्रचण्डले दिए राष्ट्रपति दिने वचन

37

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसका नेताहरूलाई राष्ट्रपति निर्वाचनमा सहयोग गर्ने वचन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न पार्टीको बैठक बस्नु अघिल्लो दिन आइतबार साँझ काँग्रेस नेताहरूसँग छलफल गरेका थिए ।

काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला र महामन्त्री गगनकुमार थापा बालुवाटार पुगेका थिए । काँग्रेस र माओवादीबीच संस्थागत रूपमा छलफल गर्ने योजना थियो । माओवादीबाट पनि नारायणकाजी श्रेष्ठ, देव गुरुङ, जनार्दन शर्मा र शक्ति बस्नेत पनि बैठकमा आउने भनिएको थियो । तर खबर गर्न नभ्याएको भन्दै प्रचण्ड मात्र सहभागी भए ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले काँग्रेसलाई राष्ट्रपति दिने बचन मात्र दिएनन्, सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि यो कुरा भनिसकेको सुनाएका थिए ।

काँग्रेस नेताहरुले पनि १० पुसमा गठबन्धन टुट्नु कमजोरी भएको स्वीकार गरेका छन् र, अब बन्ने समझदारीमा जुनसुकै परिस्थितिमा तल–माथि नगर्ने प्रतिबद्धता जनाएका छन् । ‘विगतमा वान टु वान डिल गर्दा सहमति तोकिएका कारण यो पटक उहाँले संस्थागत रूपमा समझदारी गर्न चाहनु भएको छ,’ एक नेता भन्छन्, ‘हामीले पनि जुन समझदारी बनेको छ, यो जुन कुनै अवस्थामा तलमाथि हुन्न भनेका छौँ ।’