सूर्यविनायकका जनप्रतिनिधिलाई जलवायु परिवर्तन, वन ऐन र नियमावलीका बारेमा अभिमुखीकरण

46

भक्तपुर । डिभिजन वन कार्यालय भक्तपुरले बुधवार सूर्यविनायक नगरपालिकाका प्रमुख, उपप्रमुखसहित कार्यपालिका सदस्यहरुलाई जलवायु परिवर्तन, वन ऐन र नियमावलीका बारेमा अभिमुखीकरण गरेको छ । जलवायु परिवर्तनले स्थानीय स्तरमा पार्ने प्रभाव र यसको न्यूनिकरणका लागि स्थानीय तहको भूमिका तथा वन ऐन २०७६ र वन नियमावली २०७९ ले स्थानीय तहलाई प्रदान गरेको अधिकारका बारेमा स्थानीय तहका जनप्रतिनिधिहरुलाई जानकारी दिने उद्देश्यले सो अभिमुखीकरण गरिएको हो ।

कार्यक्रममा कृषि विकासका लागि अन्तराष्ट्रिय कोष (आईएफएडी)का निराजन खड्काले जलवायु परिवर्तनले पार्ने प्रभाव र यसको न्यूनिकरणका लागि स्थानीय तहले पार्ने प्रभावका बारेमा अभिमुखीकरण गरे । उनले यसवर्ष प्रशान्त महासागरमा वाफ कम बनेको र तातो हावा कम मात्रामा उत्पादन भएको कारण चाप कम भएको कारण जम्बु कस्मीरका ज्यादा हिउँ परेपनि नेपालमा हिउँदे वर्षा हुन नसकेको बताए । उनले केही मात्रामा पश्चिमी वायु नेपाल प्रवेश गरी कर्णालीको हुम्ला, मुगु तिर केही मात्रामा हिउँसहितको वर्षा भएपनि नेपालका मध्यपच्चिमदेखी पुर्व पानी पर्न नसकेको बताए ।

यसवर्ष नेपालमा हिउँदे वर्षा औसत १३ मिलि मात्र पानी परेको र यो एकदम खडेरीको अवस्था भएको बताउँदैं खड्काले कम पानी पर्नु र यस्तो खडेरीले लामो समयसम्म असर गर्ने बताए । उनले जलवायु परिवर्तनको असर कम गर्न हरितगृह ग्यास जुन जुन स्रोतबाट निस्कन्छ त्यो स्रोत कम गर्ने वा टाल्ने, योजना सञ्चालन गर्दा वातावरणीय प्रभाव मूल्यांकन गर्ने सुझाव दिँदैं जलवायु परिवर्तनको असर कम गर्न योजना सञ्चालन गर्दा प्राकृतिक प्रक्रियामा कम असर पर्ने गरी गर्नुपर्नेमा जोड दिए । उनले अग्ला स्थानमा पोखरी निर्माण गरी जमिनमा पानी रिचार्ज गर्ने, सडक निर्माण गर्दा पानी रिचार्ज हुने प्रविधि प्रयोग गर्ने, वनसँग समन्वय गरी रुख विरुवा जोगाउने, संरक्षण गर्ने र वन क्षेत्रको विकास गर्नेलगायतका कार्य गरी जलवायु परिवर्तनको असरलाई कम गर्न सकिने सुझाव दिए ।