यस्ताे छ सुरक्षा निकायका प्रमुखलाई प्रधानमन्त्रीको प्रश्न

25

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार काठमाडौँको गोङ्गबुमा भएको तोडफोड र लुटपाटको घटनाको गम्भीर रूपमा अनुसन्धान गर्न सुरक्षा अङ्गका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षा अधिकारीसहितको बैठक राखेर प्रधानमन्त्रीले घटनाको गहिरो अनुसन्धान गर्न र अन्यायमा परेकाले न्याय पाउने गरी कारबाही अघि बढाउन निर्देशन दिएका उनको सचिवालयले जानकारी दिएको छ ।

उनले भने, ‘राजधानीमा नै यस प्रकृतिका घटना हुँदा घटनालाई राज्यले गम्भीर रूपमा लिनुपर्छ । घटनाको पृष्ठभूमि के छ, के कारणले त्यस्तो अप्रिय घटना घट्न पुग्यो, त्यसमा दोषी को को छन्, त्यो सबै कुराको गहिरो गरी अनुसन्धान गर्नुस् । लुटपाटको घटना झन् गम्भीर छ, त्यसमा दोषीलाई कारबाही गर्नुस् र जो जो पीडित छन्, उनीहरूले छिटोभन्दा छिटो न्याय पाउने वातावरण बनाउनुस् ।’

सोमबार दिउँसोदेखि यातायात मजदुरले गोङ्गबु क्षेत्रमा गरेको आन्दोलनका क्रममा यातायात अवरुद्ध पार्नुका साथै बसपार्क क्षेत्रमा रहेको ल्होत्से मलमा तोडफोड र त्यहाँको मोबाइल पसलमा लुटपाट भएको थियो । त्यस्तै आन्दोलनकारीले माछापोखरीमा प्रहरीका दुई वटा गाडी र प्रहरी विट जलाएका थिए ।