काठमाडौँ । स्याङ्जाको गल्याङ नगरपालिकाले दुई सय २१ विद्यार्थीलाई निःशुल्क अध्ययन गराउँदै छ। नगरपालिकाभित्रका क्याम्पस तथा कक्षा ११ र १२ मा पढ्ने अति गरिब, विपन्न तथा जेहेनदार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरी निःशुल्क अध्ययन गराउन थालेको हो।
नगरभित्रका क्याम्पसमा अध्ययनरत लक्षित समूहका विद्यार्थीमध्ये १० प्रतिशत तथा कक्षा ११ र १२ मा अध्ययनरतमध्ये २० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख केदारराज आचार्यले बताए।
नगरपालिकाले क्याम्पसमा पढ्ने अति विपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीलाई मासिक शुल्क बापत जनही १० हजार आठ सय रुपैयाँ प्रदान गरेको हो। कक्षा ११ र १२ विद्यार्थीलाई मासिक तीन सय रुपैयाँका दरले वर्षभरिको तीन हजार छ सय रुपैयाँ उपलब्ध गराइएको उनले बताए।
‘क्याम्पस तथा विद्यालयले अति विपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीको आवेदन खुलाउने र त्यसैका आधारमा विद्यार्थीले आवेदन भरेका हुन्’, उनले भने, ‘प्राप्त आवेदनमाथि विद्यालयले छानबिन गरी वास्तविक विद्यार्थी छनोट गरी नगरपालिकामा सिफारिस गरेको आधारमा यहाँबाट पूर्ण छात्रवृत्ति उपलब्ध गराएका हौँ।’
पूर्ण छात्रवृत्ति प्राप्त गरेको विद्यार्थी उत्तीर्ण भएमा मात्रै अघिल्लो कक्षाका लागि पुनः छात्रवृत्ति प्राप्त गर्नेछन्। अनुत्तीर्ण भएकाले भने उक्त सुविधा अघिल्लो कक्षामा नपाउने उनले बताए। आर्थिक अभावकै कारण कोही पनि शिक्षा पाउनबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्य सहित नगरपालिकाले यो अभियान थालेको नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताए।














