काठमाडौँ । अर्थ मन्त्रालयले देशभरका स्थानीय तहहरूलाई अनुदान रकम सम्बन्धी विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । चालु आर्थिक वर्ष ०७९/८० मा स्थानीय तहबाट वितरण हुने वा भइसकेका अनुदान रकमको विवरण अर्थ मन्त्रालयको योजना अनुगमन तथा मूल्याङ्कन महाशाखामा पठाउन भनिएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले सबै तहका सरकारले दिने अनुदानको विवरण तयार पार्न अर्थ मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई भनेको थियो । सोही माग गरेबमोजिम सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई १० दिनभित्र अनुदान रकमसम्बन्धी विवरण पठाउन परिपत्र गरेको जनाएको छ ।
परिपत्र अनुसार स्थानीय तहहरूले अनुदान दिने निकाय, अनुदान रकम, अधिकतम र न्यूनतम अनुदान, अनुदान पाउने संस्था, अनुदानको प्रभावकारिता लगायतका विषयवस्तु समेटेर विवरण पठाउनु पर्नेछ ।